धनकुटा । धनकुटाको छथर जोरपाटीस्थित चुलाचुली र काजीमाने बजारलाई लक्षित गरेर डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ ।

योसँगै वडा नं.२ स्थित जोरपाटी बजारबाट उक्त क्षेत्रमा जाने कालोपत्रे बाटोको लम्बाइ २ किमि ७ सय मिटर पुग्नेछ । गत आर्थिक वर्ष ०७६÷७७ मा जोरपाटी बजारबाट फुर्तुङडाँडासम्म गाउँपालिका र राष्ट्रिय योजना आयोगको साझेदारीमा १ किमि २ सय मिटर बाटो कालोपत्रे भएको थियो । हाल निर्माणाधीन डेढ किमि सडक टेन्डरमार्फत् पवित्रा पूजा आनन्द जेभी धनकुटाले यसै असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी काम सुरु गरेको छ ।

फुर्तुङडाँडाबाट बदमटारसम्म कालोपत्रे हुन लागेको उक्त सडक गाउँपालिका र राष्ट्रिय योजना आयोगको २ करोड ७८ लाखको साझेदारीमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए।

उक्त बजेटमा ई–टेन्डरमार्फत् मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ करोड ८० लाखको स्वीकृत योजनाअनुसार काम सम्पन्न हुन लागेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

सडक निर्माणले छथरजोरपाटी गाउँपालिकाको वडा नं.३,४ र ५ का नागरिकहरूलाई जोरपाटी बजार र यहाँस्थित गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म आवत–जावत गर्न सहयोग पुग्नेछ ।