सुनसरी । सुनसरीमा २३ वटा सीमास्तम्भ गायब भएका छन् । सुनसरीको सीमा क्षेत्रमा २ सय ९० सीमास्तम्भ थिए ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीले २ सय ९० मध्ये २३ वटा हराएको जनाएको छ । कागजी तथ्याङ्कमा २३ वटा सीमास्तम्भ छैनन् । तर, पनि लामो समययता खोजी कार्य नभएको जनाइएको छ ।
हराएका बाहेक अन्य सीमास्तम्भ पनि जीर्ण अवस्थामा छन् । कतिपय सीमास्तम्भमा उल्लेख गरिएका शब्दहरू नै प्रष्ट बुझिँदैन । मर्मत सम्भारको अभावमा सीमास्तम्भ जीर्ण बनेको सुरक्षाकर्मी नै बताउँछन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमास्तम्भ जीर्ण अवस्थामा पाइएको बताए ।
जिल्ला प्रशासनको सक्रियतामा नेपाल–भारतका सुरक्षा अधिकारीले संयुक्तरूपमा मङ्गलबार सीमा अनुगमन गरेका थिए । सीमासँग जोडिएका पिलर नम्बर १८२ देखि १९५ सम्मको मूल तथा सहायक पिलरको दुई देशका सुरक्षा अधिकारीले संयुक्तरूपमा मङ्गलबार अनुगमन गरेका हुन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बर्जु गाउँपालिकाको अमडुवा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, हरिनगर गाउँपालिकाको वसन्तपुर, घुस्की र भोक्राहा नरसिंह गाउँपालिकाको उल्टीसहितका दशगजा क्षेत्र अनुगमन गरिएको हो । अनुगमनमा नेपाल प्रहरीको प्रदेश प्रमुख डिआइजी अरुणकुमार बिसीसहितको टोलीले सीमास्तम्भको निरीक्षण गरेका थिए ।
सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, भौगोलिक अवस्था बुझ्दै सीमास्तम्भको अवस्थाबारे निरीक्षण गरिएको उनले बताए । जीर्ण भएकालाई नयाँ बनाउने वा मर्मतसम्भार गर्ने अधिकार नापी विभागसँग भएकाले निरीक्षणका क्रममा पाइएअनुसार माथिल्लो निकायमा सूचित गर्ने उनले बताए ।