धरान । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा नेपाली ठग्नेलाई कारबाही गर्न इन्टरपोलको मद्दत लिने तयारी गरिएको बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका मन्त्री श्रेष्ठले मङ्गलबार आवुधाबीस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्दै इन्टरपोलको मद्दत लिई कारबाही गरिने तयारी गरिएको बताए ।
मन्त्री श्रेष्ठले भने, ‘नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउनेलाई कारबाहीको दायरामा ल्याइन्छ । उनले त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को सहयोग लिई नेपाल झिकाई कारबाही गरिने बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । ‘गैरकानूनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिँदैनन्’–उनले भने ।
उनले नेपाली समुदायसँग नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे सुझाव माग गरेका थिए । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीहरूलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।
































