विराटनगर । विराटनगर–२ मा रहेको स्पर्श नेपाल नामक सुधार गृहबाट भागेका एक युवा बुधबार दिउँसो मृत भेटिएका छन् ।
मङ्गलबार दिउँसो ३ बजेतिर सुधार गृहबाट फरार भएका सुनसरी गढी गाउँपालिका–२ घर भई धरानमा बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियारको शव सिङ्घिया खोलामा भेटिएको हो ।
सुधारगृहबाट परियारसहित उनका साथीहरू धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत फरार भएका थिए । फरार भएकामध्ये तीन जना सिङ्घिया खोला तरेर बाहिर निस्किएका थिए भने परियार खोलामा डुबेका थिए ।
हराएको दिनदेखि खोजी गरेको परियारलाई बुधबार दिउँसो मृत अवस्थामा फेला पारेको मोरङ प्रहरीले जनाएको छ । भागेकामध्ये अन्य तीन जना भने परिवारको सम्पर्कमा पुगेका छन् ।
धमलालाई भाग्दाभाग्दै प्रहरी र सुधार केन्द्रको टोलीले नियन्त्रणमा लिएको थियो । बस्नेत र कामत परिवारको सम्पर्कमा पुगिसकेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
भाग्ने क्रममा परियार भने सिङ्घिया खोलामा हाम्फालेर बेपत्ता भएको बताइएको छ । दहमा हाम्फालेपछि बाहिर निस्कन नसक्दा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लागूऔषध प्रयोगकर्ता चारै जनालाई परिवारले सुधारका लागि एक महिनाअघि सुधार केन्द्रको जिम्मा लगाएका थिए ।
मृतकका बुबा दिलिपकुमार परियारले सुधार केन्द्रको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन् । ‘छोरालाई फागुन १ देखि सुधार गृहमा राखेको थिएँ । मासिक ५० हजार रुपैयाँ दिएर राखेको सुधारगृहको लापरबाहीले अहिले यस्तो घटना भएको छ’ उनले भने, ‘सुधार गृहका सञ्चालकहरूलाई कारबाही गरिनुपर्छ ।’ सुधारगृहको नाममा बिगार गर्ने संस्था भएकोले प्रशासनले कारबाहीकोे दायरामा ल्याउनुपर्ने मृतक परिवारको माग छ ।
‘सुधार केन्द्रबाट दिउँसै छोरो भागे पनि परिवारलाई ढिलो मात्रै जानकारी दिइयो’ उनले भने, ‘सुधार केन्द्रमा चरम् लापरबाही रहेछ । नियामक निकायले छानबिन गर्नुपर्छ ।’
सुधार केन्द्रले लागूऔषध प्रयोगकर्ताको रेखदेखका लागि केही युवालाई राखेको थियो । उनीहरूले वास्ता नगर्दा घटना भएको मृतकका आफन्त बताउँछन् ।
परिवारका सदस्य र आफन्तले मृत फेला परेका परियारको शव बुझ्न अस्वीकार गरेका छन् । सम्झाई बुझाई गरेर शव भने पोष्टमार्टमका लागि कोसी अस्पताल लगिएको एसपी जिसीले बताए । उनका अनुसार घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान थालिएको जानकारी दिए ।
सुधार केन्द्रका अध्यक्ष सञ्जीव खड्काले सुधार गृहले कुनै पनि लापरबाही नगरेको दाबी गरेका छन् । अहिले पनि सुधार गृहमा १५ जना युवा रहेका छन् । ‘सरसफाइको समयमा कर्मचारीहरूलाई झुक्याएर उनीहरू फरार भएका रहेछन् । यसमा हामीले कुनै लापरबाही गरेको छैन । फरार भएपछि खोजी कार्य गरेका थियौं । तर, यस्तो दुःखद् घटना हुनपुग्यो । यस घटनाले हामी पनि मर्माहत भएका छौं’–उनले भने ।