भद्रपुर । गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहर सहित ५ वर्षे अवधिमा गरिएका सवै कामको तथ्यगत खर्च विवरण माग गर्दै नेपाली काँङ्ग्रेसले ज्ञापनपत्र बुझाएको छ ।
कचनकवल गाउँ समितिले कचनकवल गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरण सहित खर्चको यकिन तथ्य माग गर्दै गाउँपालिका प्रमुख अञ्जरा आलमलाई ५ वर्षे आवधिक खर्च विवरणको माग पत्र बुझाएको हो ।
९ वटा बुँदामा राखिएको माग पत्रमा कृषि, पर्यटन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना रोकथाम तथा उपचार खर्च, रोजगारी लगायत भौतिक पूर्वाधार विकास निर्माणका लागि गरिएका सवै खर्च र प्राप्त आम्दानीको तथ्यगत विवरण माग गरिएको छ ।
गाउँपालिका नेतृत्वले पारदर्शी खर्च गर्न नसकेको तथा जनताका पक्षमा काम नभएका कारण पटक – पटक सचेत गराउँदा समेत अटेर गरेपछि ५ वर्षे खर्च विवरण माग्न बाध्य भएको नेपाली काङ्ँग्रेस महाधिवेशन प्रतिनिधि तथा शिक्षासेवी भूमिप्रसाद राजवंशीले जानकारी दिए ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद पार्टी नेपाली काँङ्ग्रेसको आदर्श हो । यहि आदर्श प्राप्तिका लागि काङ्ँग्रेसले स्थापना कालदेखि नै अनवरत रुपमा सङ्घर्षशिल रहेको सर्वविदितै छ । नेपाली जनताको अधिकार प्राप्तिको निमित्त विभिन्न कालखण्डमा भएको राजनितिक क्रान्ती र आन्दोलनको परिणाम स्वरुप प्राप्त भएको लोकतन्त्रको प्रतिफल सबै नेपालीको घरदैलोमा पुर्याउने विषयमा पार्टी सदैव क्रियाशील र चिन्तनशील रहेको गाउँ सभापति तुराराम अधिकारीले हस्ताक्षर गरिएको माग पत्रमा उल्लेख छ ।
पछिल्लो समयमा २०६२/०६३ को आन्दोलन पश्चात सो आन्दोलनले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै नेपाली जनताले अपनत्व महसुस गर्ने संविधान सभाबाट संविधान निर्माणमा सहयात्री विभिन्न राजनैतिक दलको साथ लिँदै उक्त संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका काँङ्ग्रेसले नै निर्वाह गरेको स्मरण गराएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था सुनिश्चित गर्दै वर्तमान संविधान निर्माण पश्चात् भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल पनि ५ वर्ष पूरा हुन गइरहेकोे छ ।
निर्वाचित जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकाल हुन लाग्दा पनि नेतृत्व तहले यस कचनकवल गाउँपालिकामा पालिकाको सर्वाङ्गीण विकासका लागि अपेक्षाकृत काम गर्न नसक्दा गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।
मागहरुप्रति जिम्मेवार स्थानीय तहको जिम्मेवार जनप्रतिनिधिको तर्फबाट एक नागरिकले पाउने सुचनाको हकलाई आलटाल गर्न नखोजी, नजर अन्दाज नगरी आवश्यक सत्य–तथ्य सुचना यथाशीघ्र जनतासमक्ष राखिदिन समेत जोडदार माग गरिएको छ ।
पछिल्लो समय गाउँपालिका नेतृत्वले विकासमा समेत विभेद सिर्जना गरी कार्यकर्ता भर्तिकेन्द्र बनाएर गउँपालिकाको आर्थिक दोहन गरिरहेको काँङ्ग्रेसको आरोप छ । विभन्न लोभ र लालचमा पार्दै स्थानीयलाई भोट बैंक बनाउन गाउँपालिका नेतृत्व लागिरहेको भन्दै विपक्षी काँङ्ग्रेस लगायतका दलहरू विरोध गरिरहेका छन् ।