बिर्तामोड । सङ्घर्षपूर्ण खेलमा जित निकाल्दै सङ्कटा क्लब काठमाडौँ झापा गोल्डकप फुटबल प्रतियोगिताकोे क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सङ्कटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आइतबार भएको खेलमा सङ्कटाका उत्तम राईले ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । डिबक्सभित्र अनमार्क रहेका उनले फोडे फोफोनाको क्रस पासलाई हेडमार्फत् गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमणलाई सङ्कटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रामक बने पनि स्कोर भने सङ्कटाले मात्र गर्न सफल भयो ।

खेलको २४ औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेड पोष्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक सङ्कटाका गोलरक्षक रोहित कार्कीले विफल बनाए । ५० औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’ मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।

५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुट्टामा ठोक्किएर पोष्टनजिकैबाट बाहिरियो । कप्तान राईले गोलका तीनवटा मुभ बनाए पनि स्कोर भने निकाल्न सकेनन् ।

jhaapa-c

त्यस्तै १६ औँ मिनेटमा सङ्कटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले विफल बनाए । २२ औँ मिनेटमा सङ्कटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बारनजिकैबाट बाहिरियो । सङ्कटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा परिणत गर्न नसक्दा अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा पुलिसका प्रशिक्षक अनन्तराज थापाले अधिकांश समय बल नियन्त्रणमा लिन सफल भए पनि स्कोर निकाल्न नसकिएको प्रतिक्रिया दिए । पुलिसले राम्रो मुभ बनाए पनि गोल हुन नसक्नु टिमको लागि ‘अनलक’ सावित भएको उनको भनाई थियो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्ना खेलाडीले शहीद स्मारक लिगको भन्दा मिहिनेत गरेको बताए । पहिलो ११ मात्र नभएर सङ्कटाका अतिरिक्त खेलाडी पनि सशक्त भएका कारण आगामी दिनमा पनि सकारात्मक नतिजा निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिने खड्गीले बताए ।

आइतबारको खेलको म्यान अफ दी म्याच विजेता टिम सङ्कटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकरले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस बियर हो ।

प्रतियोगिताअन्तर्गत आज (सोमबार)को क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र पहिलो खेलको विजेता सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपिएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।


jhapannn