धनकुटा / नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले नेकपा (एकीकृत समाजवादी) का १४ जना सांसद्लाई कारबाही नगरेसम्म संसद् अवरुद्ध कायमै रहने बताएका छन् ।

प्रेस चौतारी नेपाल धनकुटाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले)का नेता एवम् केन्द्रीय महासचिव पोख्रेलले अहिलेको गठबन्धन सरकार अलोकतान्त्रिक रहेको बताए ।

उनले नेकपा (एस) भनिएको पार्टीको १४ जना सांसद्लाई कारबाही नगरेसम्म कुनै पनि हालतमा संसद् अगि बढ्न नदिने ठोकुवा गरे । अहिलेको सरकारले चुनाव नगर्ने षड्यन्त्रको तानाबाना बुनेको आरोप पनि लगाए ।

नेता पाख्रेलले भने, ‘महाअभियोग दर्ता गर्ने, चुनाव सारी पाऊँ भन्नुजस्ता सरकारको गतिविधिले चुनाव नगर्ने षड्यन्त्र पुष्टि गरेको छ ।’ उनले यस्तै विभिन्न बहाना बनाएर सरकार चुनावबाट पन्छिन खोजेको आरोप लगाए ।

प्रदेश १ को नामकरणका सम्बन्धमा नेकपा (एमाले) ले ‘कोसी प्रदेश’ राख्न पार्टीले आधिकारिक धारणा अघि सारेको बताए । पोख्रेलले ‘कोसी’ शब्द प्राचीनकालदेखिको ऐतिहासिक भएको बताए । उनले किरात प्रदेश हुनुपर्छ भन्नेहरूलाई पनि कोसी प्रदेशले समेट्ने दाबी गरे ।

प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईं, प्रदेशसभा सदस्य एवम् नेकपा (एमाले) धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुली, एमाले नेता एवम् प्रदेशसभा सदस्य निरन राई, जिल्ला नेताहरू दीपक बुढाथोकी, नैन विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

महासचिव पोख्रेल नेकपा (एमाले) धनकुटाले आइतबार धनकुटामा आयोजना गरेको १ दिने स्थानीय तह निर्वाचनको बृहत् तयारी प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुन धनकुटा आएका थिए ।