मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश १ का महिला भलिबल खेलाडीलाई खेल पोशाक वितरण गरेको छ ।प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६आै  स्मृति दिवसका अवसरमा पारेर सो सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी सांसद महेन्द्रकुमारी लिम्बूले बताइन्।

ती पोशाक प्रतिष्ठानका सदस्यसमेत रहेका  बेलायत निवासी बक्सिङ खेलाडी रवीन राईले प्रायोजन गरेका थिए । 

असहाय तथा विपन्नलाई सहयोग

नेपाली कांग्रेस १ नं प्रदेश सदस्य हुकुमसिंह राईले आफ्नो जन्मोत्सवको अवसरमा कमल गाउँपालिकाका असहाय ,विपन्न समुदायलाई रु एक लाख बराबरको सहयोग उपलव्ध गराए । जन्मदिनलाई सेवासँग जोडिएर वर्सेनि परोपकारी कार्य गर्दै आएका उनले आज वडा नं ७ को सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिरका बटुकलाई चप्पलसहित खाद्यान्न र सोही वडाको पाथीभरा टोल निवासी मिगौला रोगी ५० वर्षीय मनोज लकान्द्रीलाई रु १५ हजार सहयोग गरेका हुन् । 

उनले वडा नं ४ को  जोगीचौनमा बस्दैआएका २६ विपन्न परिवारलाई जनही एक बोरा चामल, दाल , तेल र नून पनि उपलव्ध गराए । सहायता सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी राईले जन्मदिनलाई यसरी नै स्वेच्छिक रुपमा सेवा पुर्याउँदै आएको बताए । तीन वर्षअघि वडा नं ५ को आगलागी पीडितलाई पनि रु ४० हजार सहयोग उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाको निर्वाचनमा उनि वर्तमान  अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथामा पराजित  भएका थिए ।