बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । भर्खरै सम्पन्न ‘ए’ डिभिजन लिगमा जावलाखेलसँग व्यहोरेको हारको बदला सातदोबाटोले झापा गोल्डकपमा लिएको छ । लिगमा सातदोबाटोले जावलाखेलसँग २–० गोल अन्तरले पराजय व्यहोरेको थियो । 

टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोलरक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।

सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’ मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १–१ को बराबरी गर्यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले टिमको लागि व्यक्तिगत दोस्रो गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पुर्याए ।

पहिलो हाफ २–१ मा टुङ्गिए पनि दोस्रो हाफको आठौँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे । निरज चौधरीको पासमा राईले जावलाखेलका गोल रक्षक ईश्वर गुरुङ बिट हँुदा गोल गर्न सफल भए । खेल अवधिभर दुवै टिमका खेलाडीले थप स्कोर निकाल्न खोजे पनि सफल हुन भने सकेका थिएनन् ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै जावलाखेलका प्रशिक्षक किशोर केसीले पूरा समय नखेलाउनु आयोजकको कमजोरी भएको बताए । उनले ९० मिनेट खेलेपछि समय थपेर खेलाउनु पर्नेमा आयोजकले ८० मिनेट खेलाएर सोझै टाइब्रेकरमा लगेको बताए ।

सातदोबाटोका प्रशिक्षक उज्वल मानन्धरले खेल अवधिमै जित निकाल्न खोजेको भए पनि त्यो सम्भव हुन नसक्नु टिमको कमजोरी भएको बताए । सातदोबाटोमा कोही स्टार प्लेयर नभएको जानकारी दिँदै सशक्त टिम भएका कारण यो प्रतियोगिताको टाइटल उचाल्नेमा आफू विश्वस्त रहेको मानन्धरले बताए ।

खेलको म्यान अफ दी म्याच सातदोबाटोका गोल रक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ नगद पाए । आज (आइतबार)को दोस्रो खेल नेपाल पुलिस क्लब नेपाल पुलिस क्लब र सङ्कटाबीच हुने आयोजकले जनाएको छ ।

३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । झापा गोल्डकपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रङ्गशालाको विकास र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

jhapa-khel