विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले क्रिकेटका महिला खेलाडीहरूलाई पोसाक वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई पोसाक वितरण गरेको हो ।

जिल्ला क्रिकेट सङ्घ मोरङको समन्वयमा १४ जना महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले पोसाक वितरण गरेका थिए ।

खेलप्रति अभिरुचि बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोसाक वितरण गरिएको न्यूरो अस्पतालले जनाएको छ ।

कार्यक्रममा जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष नवीन घिमिरे, सदस्य रोशन बुढाथोकी, कप्तान अन्सु जैसवाल, टिम कोच राजेश पोखरेल, म्यानेजर अम्विका बुढाथोकीको सहभागिता रहेको थियो ।

हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अस्पतालको सेवामा पनि छुट दिएको छ । अस्पतालको स्त्री तथा प्रसूतिरोग परामर्श सेवा फागुन १७ देखि चैत १७ सम्म एक महिना निःशुल्क राखेको छ ।

अस्पतालमा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ)ले सेवा दिँदै आएकी छन् । अस्पतालले महिना दिनसम्म सम्बन्धित सम्पूर्ण जाँचमा २५ प्रतिशत छुट र महिलालाई सबै सेवामा १० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

अस्पतालले फागुन २४ गते भव्य कार्यक्रम आयोजना गरी नारी दिवस मनाउने तयारी गरेको छ । यसअघि पनि अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न सामाजिक कार्यहरू गरेर यो दिवस मनाउने गरेको थियो ।