सुनसरी । कोसी गाउँपालिकाको ग्रामीण भेगमा सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरूलाई लेखा व्यवस्थापन तालिम दिइएको छ । उनीहरूलाई सहकारी संस्थाको लेखा प्रणाली चुस्त र दुरुस्त राख्नका लागि एकहप्ते लेखा व्यवस्थापन तालिम सम्पन्न गरिएको कोसी गाउँपालिकाको कार्यालयले जनाएको छ ।
८ सय ७० जना शेयर सदस्य रहेको कोसी महिला बचत तथा ऋण सहकारी र १ हजार १ सय १७ जना शेयर सदस्य रहेको सप्तकोसी महिला बचत तथा ऋण सहकारीका सञ्चालक समिति र लेखा समितिका मुख्य पदाधिकारीहरूसँगै पालिकाका सम्बन्धित शाखाका कर्मचारीहरूको लागि आयोजना गरिएको लेखा व्यवस्थापन तालिम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले जानकारी दिए ।
कोसी गाउँपालिकाले आयोजना गरेको लेखा व्यवस्थापन तालिममा प्रशिक्षकहरू कनकलक्ष्मी सहकारी मोरङका कार्यकारी प्रमुख शेखर भट्टराई, कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, व्यवस्थापक श्रीपुर बचत सहकारीका राजकिशोर मेहता, सहकारी प्रशिक्षक रीतामाया मगर, सहकारी प्रशिक्षक राजकिशोर मेहता, सहकारी लेखा सफ्टवेयर प्रशिक्षक कुमार समदर्शी, सफ्टवेयर प्रशिक्षक जितेन्द्र उरावँलगायतले सहकारीको व्यवस्थापन, लेखा तथा वित्त व्यवस्थापन, उद्यमशीलता विकासलगायतका बारेमा केन्द्रित भएर सहभागी १८ जनालाई प्रशिक्षण दिएका थिए ।
यसैबीच तालिममा सहभागीहरूलाई तालिमका साथै दुई दिन विभिन्न सहकारीको स्थलगत भ्रमण पनि गराइएको थियो । उनीहरूलाई कोसी गाउँपालिका–४ मा अवस्थित श्रीपुर सहकारी, महिला साकोस इटहरी, सहारा नेपाल साकोस बिर्तामोडलगायत क्षेत्रमा लगेर स्थलगत अवलोकन गराइएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
सहकारी संस्थाहरूका पदाधिकारी र गाउँपालिकाका कर्मचारीसमेतलाई समावेश गरेर आयोजना गरिएको तालिम र भ्रमणको अनुगमनमा कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, लेखा अधिकृत सुरप्रसाद दङ्गाललगायतले गरेका थिए ।
गाउँपालिकाले आयोजना गरेको एकहप्ते लेखा व्यवस्थापन तालिम आफूहरू जस्ताको लागि निकै उपयोगी सावित भएको कोसी सहकारी संस्थाकी अध्यक्ष गीता पौडेलले बताइन् । तालिमबाट आफूहरूले नयाँ नयाँ कुरा सिक्न पाएको बताउँदै सप्तकोसी सहकारी संस्थाकी अध्यक्ष मोती मेहताले यस्ता तालिमलाई निरन्तरता दिइनुपर्ने जोड दिएकी छन् ।
गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाको संस्थागत क्षमताको विकासका साथै लेखा प्रणालीलाई थप व्यवस्थित गर्ने उद्देश्यले लेखा व्यवस्थापन तालिम आयोजना गरिएको बताउँदै गाउँपालिकाका अध्यक्ष अन्सारीले तालिम सहकारी संस्थामा आबद्ध रहेका अधिकांश विपन्न समुदायका महिलाहरूलाई सशक्त बनाउन महत्वपूर्ण हुने दाबी गरे ।