मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज  पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।

उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा सात टोली सहभागी थिए । अन्तिम चरणको खेल आज हुने भएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरिसकेको छ ।

विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो ।

 प्रतियोगितालाई निरन्तरता तथा  समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोे उनले बताए ।

विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा खेल आयोजना गरिएकोे खेलकूद विकास समितिले जानकारी दिएको छ । उक्त प्रतियोगितमा विजेताले रु ७५ हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन् ।