ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो ११ बजे ओखलढुङगा चिशंखुगढी गाउँपालिका ३ दियाले बस्ने ६३ बर्षीय बिरबहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरलाइ  उपचारकाे लागी  मिसन अस्पताल ओखलढुंगा पुर्याइएकाे भएपनि उपचार पूर्व नै मृत्यु भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

यसैगरी,  हिजै बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका १० करमगाछिमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाकाे मृत्यु भएकाे उक्त कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार मृत्यु हुनेमा  ५५ बर्षीया कालुमाया राई रहेकी छिन्  ।

कालुमायाकाे त्रियुगा नगरपालिका ११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन । घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ । 

करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ मिक्लाजुङ्ग गाउँपालिका ८ का २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।  हिजो दिउसो २ बजे मोरङ मिक्लाजुङ्ग गाउँपालिका २ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्नेतको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको  उक्त कार्यालयले जनाएकाे छ ।