मिथिलाञ्चलमा प्रसिद्ध मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु  भएको छ । प्रत्येक वर्ष फागुण शुक्लपक्ष प्रतिपदाका दिनदेखि मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका– ८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित मिथिलामध्यमा परिक्रमाका लागि डोला उठेको मन्दिरका महन्थ रामनरेश दासले जानकारी दिए ।

जनकपुरधामबाट धनुषाधाम जाने मार्गमा पर्ने मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी अर्थात भगवान रामको डोलालाई जनकपुरधामस्थित हनुमानगढी मन्दिरमा पुर्याइनेछ । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर ९मिथिलेश्वरनाथ०, अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुर्याउने परम्परा रहेको महन्थ दासले जानकारी दिए । 

उक्त डोला फागुपूर्णिमाको दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तगह परिक्रमा गरी समाप्त हुने उहाँको भनाइ छ । नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुहरुले १३५ किलोमिटर पैदल यात्रा गर्ने जनाइएको छ ।

श्रद्धालुको लागि नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ । पडावस्थलमा स्वास्थ्य, विजुलीबत्ति, भोजनलगायत व्यवस्थापनमा सहयोग गर्दै आएका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले यस पटक पनि विशेष सहयोग गर्ने तयारी गरेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुख कार्यकारी निर्देशक बलराम ठाकुरले जानकारी दिए ।