संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् ।

 नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उनले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाए ।

मन्त्री आलेले भिन्न/भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट््य, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताए । उनले भने,“ललितकलाको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्छौ, तीन/चार वटा प्रतिष्ठान बनाएर काम छैन, पहिला पनि (नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको प्रतिष्ठान) एउटै थियो । यी सबैलाई एउटै प्रतिष्ठान मातहतमा समाहित गरेर यस क्षेत्रको विकास प्रवद्र्धनका लागि अघि बढ्छौ ।”

कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवद्र्धनमा कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको भन्दै कलालाई मौलिकताको साथसाथै यसलाई व्यावसायिक रुपमा पनि अघि बढाउनसके अर्थतन्त्रमा समेत टेवा पुग्नसक्ने बताए । उनले विज्ञान र कलालाईसँगसँगै लैजाने गरी विज्ञान प्रतिष्ठानले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति के–के कर्माचार्यले प्राज्ञ सभाले प्रष्ठिानको आगामी वर्षको रणनीति तय गर्ने जानकारी दिए । यस्तै सभाले प्रतिष्ठानको कार्यविधि, आगामी वर्षको अनुमानित प्रस्तावित बजेट कार्यक्रमलाई पारित गरिने छ । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा  प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले कला, संस्कृतिको विकासका लागि सबै नाट्य प्रतिष्ठानहरुले समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औंल्याए । प्राज्ञ गङ्गा सुवेदीले मुलुकको कुना कन्दरामा लुकेका कला र संस्कृतिलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम अघि बढाउन जरुरी भएको उल्लेख गरे ।

यसैबीच प्रतिष्ठानले ललितकलामा आवद्ध कलाकारलाई परिचयपत्र वितरणको प्रारम्भ गरेका छन् । प्रतिष्ठानका उपकूलपति कर्माचार्यले परिचयपत्र लिएर वितरण शुभारम्भको घोषणा गरे । प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यलाई वितरण गरिएको यो परिचयपत्र ललितकलामा आवद्ध देशभरका कलाकारलाई प्रदान गरिनेछ । यस्तो परिचयपत्र लिन सम्बन्धित कलाकारले निवेदन दिनुपर्नेछ । विभिन्न चार ‘क्याटोगोरी’ मा प्रतिष्ठित, विशिष्ठ, वरिष्ठ र कलाकार परिचयपत्र उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।