७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०७८ मा खोटाङका तेजकुमार राई प्रथम भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा सो प्रतियोगिता   आयोजना गरेको थिए । 

‘भित्र्याउनु छ घरभित्र सह’ शीर्षकको कविता लेखेर प्रथम हुनुभएका कवि राईले नगद रु ५० हजारको साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा बैतडीका वासुदेव पाण्डे ‘प्रभाकर’को ‘पहिचान र लोकतन्त्र’  र ताप्लेजुङकी सविता बरालले लेख्नुभएको ‘ढोका उघारैँ अब’ शीर्षकको कविता क्रमशः द्वितीय र तृतीय भएको आयेजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतियोगितामा द्वितीय र तृतीय हुने कवि तथा कवयत्रीले क्रमशः नगद रु ४० हजार र ३० हजारका साथमा सम्मानपत्र प्राप्त गर्नुभएको छ । देशभरका २६५  कवि तथा कवयत्री सहभागी राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग लिएका जनाइको छ । 

युवा कवि राई यसअघि ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित प्रतियोगितामा तृतीय भएका थिए । उनी व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको पहिलो वर्षमा अध्ययनरत छन् । उनी विसं २०७४ मा ‘खोटाङ आइडल’ बनेका थिए । गीत–सङ्गीत र साहित्यिक क्षेत्रमा रुचि राख्नुहुने कवि राईले आफ्नै स्वरमा चारवटा गीत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् । 

राट्रव्यापी निबन्ध प्रतियोगितातर्फ तनहुँका गोविन्दगोपाल खतिवडा प्रथमस तेह्रथुमकी रेजिना आपगाईँ द्वितीय र काठमाडौँका गणेश दङ्गाल तृतीय भएका जनाइएको छ । उत्कृष्ट भएका निबन्धहरूमा ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’, ‘मेरो देशको सुगन्ध’, ‘सयौँ थुँगा, धागो र माला’ निबन्ध क्रमशः प्रथम, द्वितीय र तृतीय विज्ञप्तिमा जनाइएको छ । 

निबन्धतर्फको प्रतियोगितामा देशभरका ६७ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने निबन्धकारलाई क्रमशः रु ५० हजार, ४० हजार र ३० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको जनाइएको छ ।