माघ २२ गते धरानमा नेकपा एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेला हुँदै छ । सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके पनि करिब जेठभित्र चुनाव हुने सम्भावना बलियो हुँदै गएको छ । यसै सन्दर्भमा ब्लाष्टले धरान उपमहानगरपालिकाका उपमेयरसमेत रहेकी नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज मञ्जु भण्डारी सुवेदीसँग गरेको कुराकानीको सार:

नेकपा (एमाले) पार्टी टुक्रिएपछि सुनसरीमा एमालेको अवस्था कस्तो छ ?
– टुक्रिएको होइन नेकपा एमाले । केही साथीहरू चोइटिएको अवस्था हो । समग्र अवस्थामा केही साथीहरू बाहिरिनु भए पनि त्यस्तो असर पर्ने अवस्था छैन । मजबुत नै छौं । पार्टीको १० औ महाधिवेशन भइसकेको अवस्थामा नेतृत्व छनौट एकतापूर्ण ढङ्गले भएको छ । सर्वसम्मत भएको छ । जिल्लामा पनि निर्वाचन भए पनि सबै साथीहरू समेटिएका छन् । अहिले पार्टी सुदृढीकरण अभियान चलिरहेको छ । एमालेको पहिचान भनेको टोलसम्म नै सुदृढ एमालेको सङ्गठन हो । यो नै हाम्रो आधार हो ।

माघ २२ मा सुनसरीको धरानमा हुन गइरहेको कार्यक्रम कस्तो हो ?
– २२ गतेको कार्यक्रममा एमाले महासचिव कमरेड शङ्कर पोखरेल प्रमुख अतिथिको रूपमा आउँदै हुनुहुन्छ । साथै पार्टीका स्थायी कमिटीका नेता, पोलिटब्यूरोका नेताहरू पनि आउँदै हुनुहुन्छ । उक्त दिन अर्को पार्टीबाट एमालेमा बृहत्तर रूपमा प्रवेश गर्ने सदस्यहरू र पार्टीको पूर्ववत अगुवा कार्यकताहरूलाई सम्बोधन, प्रशिक्षण दिनु हुनेछ । पार्टी बलियो बनाउन र आगामी स्थानीय तहको चुनाव, प्रदेश र सङ्घको चुनावमा एमालेलाई बहुमतले विजय गराउनका लागि कार्यकर्ता परिचालन कार्यनीतिक योजनासहित छलफल पनि हुनेछ ।

एमाले पार्टीमा कुन कुन पार्टीबाट प्रवेश हुँदै छ ?
– एमालेमा विभिन्न राजनीतिक दलबाट करिब ६ सय स्थानीय नेता कार्यकर्ताहरू प्रवेश गर्दै हुनुहुन्छ । त्यसमा काङ्ग्रेस, माओवादीबाट सबैभन्दा बढी प्रवेश गर्दै हुनुहुन्छ ।

केन्दीय सदस्य भएपछि सुनसरीमा पार्टी नेतृत्व कसरी गर्दै हुनुहुन्छ ?  
– १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएर आएपछि मेरो काँधमा झन् बढी भूमिका थपिएको छ । सुनसरीमा केही समस्या थिए । त्यसलाई व्यवस्थापन गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने भूमिका खेलिरहेको छु । भर्खरै जिल्ला अधिवेशन सम्पन्न भयो । विधि प्रक्रिया अपनाउँदा ९ वर्षदेखि जिल्लामा अधिवेशन भएको थिएन । अहिले केपी शर्मा ओली पार्टी अध्यक्ष हुनु भएपछि ऐतिहासिक रूपमा देशैभर एकैपटक वडा अधिवेशन, एकै पटक नगर अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न भएको छ । यो ऐतिहासिक काम भएको छ । केन्द्रले तोकेको समयमा कुशलतापूर्वक पार्टी सदस्यतालाई अद्यावधिक गर्ने र सुनसरीका २३ हजार सङ्गठित सदस्यहरूको डिजिटल रेकर्ड व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ । पार्टीमा जिल्लाको छुट्टै वेबसाइट बनाउने काम भएको छ । कार्यालय व्यवस्थित बनाएका छौं । पार्टीलाई आर्थिक रूपमा मजबुत बनाउन पनि भूमिका र साङ्गठानिक रूपमा मजबुत बनाउने काम भएको छ । सबैलाई जिम्मेवारी दिने काम भएको छ । अहिले कतिपय निर्वाचन प्रक्रियाबाट बाहिर हुनुभएका कमरेडहरूलाई पनि उचित जिम्मेवारी दिने तयारी हुँदै छ । धेरै योग्य कमरेडहरू पनि बाहिर हुनुहुन्छ । उहाँहरूको योगदानको कदर गर्छौ ।

स्थानीय तहको चुनावी तयारीका लागि पनि त भेला र पार्टी प्रवेश कार्यक्रम राखिएको होला नि ?
– यो भेला पार्टीको आन्तरिक सुदिृढीकरण गर्ने र पार्टी पद्धतिलाई व्यवस्थित गर्ने भेला हो । केन्द्रीय कमिटीको बैठकको निर्णयनुसारको कार्यक्रम हो । वैचारिक राष्ट्रिय राजनीतिबारे आमजनतालाई एमाले सदस्य बनाउने कार्यक्रम हो । तपाईंले सोधे जस्तो चुनावलक्षित मात्र होइन । यस्ता अभियान चुनावसँग जोडिएर पनि आउन सक्छ । तर, एमाले र कम्युनिष्ट आन्दोलनबारे बुझाउने काम यो भेलामा हुनेछ । मुस्लिम समुदाय, दलित, मधेशी र जनजाति समुदाय धेरैभन्दा धेरै एमालेमा प्रवेश गरिरहनु भएको छ ।

स्थानीय तहको चुनाव पनि नजिक आएको छ त्यसको तयारी चाहिँ एमालेले कसरी गर्दै छ ?
– नेकपा एमालेले तय गरेको लोकतान्त्रिक शासन पद्धतिमा देश बनाउने सङ्कल्प छ । पार्टी बहुदलीय प्रतिस्पर्धाको नीतिअनुसार जनताबाट मत प्राप्त गरेर शासन सत्तामा पुगेपछि मुलुक कसरी बनाउने भन्ने भिजन एमालेसँग छ । त्यो हामीले देखेका छौं । जनताले सुझबुझ गर्नेछन् । ६ महिनाअघि के के नै कायापलट होला भनेर बनेको गठबन्धन सरकारले के ग¥यो ? बरू जनताको भावना विपरीत काम मात्र गरेको छ । जनमैत्री काम गर्न सकेको छैन । ६ महिनाको गतिविधिबाट देखिएको छ । देशको समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न एमालेको अपरिहार्य विजय आवश्यकता छ । एमालेको पालामा भएका ऐतिहासिक कामको आधारमा बहुमतले विजय हुने गरी चुनावी रणनीति तयार गर्दै छौं ।

त्यो विजय सम्भव होला त ?
– एमालेलाई फेरि बहुमतका साथ विजय गराउन जनतालाई बुझाउन पार्टी कार्यकर्ता टोल टोलमा जाँदै छौं । पार्टी सुदृढीकरण र बलियो सङ्गठन बनाउनु चारमहिनाको अवधिका घर घरमा पुग्ने छौं । एमालेको अवश्यकता किन र एमालेका पालामा भएका गतिविधिहरू, हामीले लिएका नीति र कामहरू लिएर जनताको बीचमा जाने छौं । सुनसरीका १२ वटै स्थानीय तहमा बलियो उपस्थितिका साथ चुनाव जित्ने आधार छन् । हिजो टेक्निकल कारणले केही ठाउँमा पराजय भोग्नु प¥यो । अब त्यस्तो हुन दिँदैनौ । सुनसरी जिल्लालाई लाल किल्ला बनाउने छौं । हिजो भएको कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने छौं ।

स्थानीय तहको चुनावमा एमालेको प्रतिस्पर्धी को होला ? गठबन्धन पनि होला अरू दलसँग ?
– हाम्रो प्रतिस्पर्धी दल भनेको काङ्ग्रेस नै हो सुनसरीमा । काङ्ग्रेस र एमाले बीचमै प्रतिस्पर्धा हुन्छ । अहिलेसम्म एमालेले स्थानीय स्तरमा कुनै पनि दलसँग गठबन्धन गर्ने निर्णय गरेको छैन । एक्लै नै भिड्ने छौं । अरू दलसँग त एक्लै भिड्ने हिम्मत नै छैन । देशलाई स्थिरतामा लैजान, पाँच वर्षसम्म सरकारले ल्याएको नीति कार्यक्रम कार्यान्वयन गर्न एकल बहुमत आवश्यक छ । अहिले गठबन्धन सरकार भए पनि राष्ट्रिय हितको मुद्दामा स्थिर भएको देखिएको छैन । गठनबन्धन भए पनि सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको देखियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्नका लागि स्थिर सरकार आजको आवश्यकता हो र नेकपा एमालेको स्थिर सरकार बनाउनुको विकल्प छैन । त्यो आजको अवश्यकता हो । अर्को कुरा, यो गठबन्धन सरकार चुनावी सरकार मात्र भएको छ । अहिले त गठनबन्धन होइन, ठगबन्धन हो भनेर जनताले बुझेका छन् । राष्ट्रियताको सवालमा चुपचाप बस्ने, कालापानी, लिम्पीयाधुरामा भारत सरकारले खुलेआम हस्तक्षेप गर्दा पनि गठबन्धन सरकार बोल्न सकेन अथवा बोल्न सकिरहेको छैन । जनताले गठबन्धनका सबै हतकण्डालाई परास्त गरेर नेकपा एमालेलाई जिताउने छन् ।