विराटनगर । मोरङको पथरीमा सम्पती हडप्न छोराले आफ्नै आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले सम्पतीको लागि आफ्नै आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

इलका प्रहरी कार्यालय पथरीले ९० वर्षिय जगमाया श्रेष्ठको हत्या गरेको आरोपमा कमललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका कमल कान्छा छोरा हुन् । जगमायाको चार छोरा छन् ।

उनी कान्छा छोरा कमलसँग बस्दै आएकी थिइन् । कमलले आमाको १२ माघ विहान ३ बजे घाँटी थिचेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको इप्रका पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।

कान्छा छोराले सम्पती हडप्न आमाको हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । आमाको हत्या गरेको पाँच दिनपछि कान्छा छोरा कमल पक्राउ परेका हुन् । प्रहरीले उनलाई अन्तेष्टि गरेपछि सोमबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतिको नाममा बनाएका थिए । बुवाको मृत्यु भएपछि कमलले आमाको नाममा जग्गा पास गराउने भनिएका थिए ।

तर, आमालाई झुक्याएर कमलले श्रीमतिको नाममा जग्गा पास गराएका थिए । त्यसबारे आमालगायत अन्य भाईहरुलाई जानकारी भएपछि अदालतमा मुद्दा परेकोमा अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेको थियो । बाँकी रहेको १० कट्ठा ९ धुर जग्गा पनि दाइहरुलाई आमाले दिनसक्ने भएकोले आमाको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको प्रहरीले जनाएको छ ।

हत्यागरेपछि  त्रिपालमा पोकोपारेर आमालाई जलाए

कमलको आमा जगमाया नियमित मनिङ वाक गर्न सवेरै निस्किने गर्दै आएकी थिइन् । १२ माघमा पनि उनी ३ बजे मनिङवाक गर्न घरबाट निस्किने तयारी गरेर बाहिर निस्किए । जग्गाको विषयलाई लिएर कान्छा छोरासँग विवाद भइरहेकोले त्यही बेलामा कमलले आमालाई घाँटी थिचेर आगनमा हत्या गरेको घटनाको अनुसन्धान गर्दै आएका प्रहरीका अधिकारीले बताए ।

आमाको हत्या गरेपछि घरमा रहेको त्रिपालमा पोको पारेर साइकलमा हालेर घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा रहेको गुरुङ समुदायको घाटमा लगेर कमलले जलाएको खुलेको छ ।

उनले टायरमा राखेर आमालाई जलाएको बयानको क्रममा स्वीकार पनि गरेको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । ‘आमालाई जलाएपछि हातमा जुत्ता बोकेर हतारिएर हिडेको पनि मनिङ वाक गर्ने एक व्यक्तिले देखका रहेका छन् ।

हातमा जुत्ता बोकेर कहाँ हिडेको भनेर कमललाई ती व्यक्तिले सोधेका रहेछन् । तर, उनले त्यसबेला मनिङ वाक गरेको भनेका रहेछ,’ अनुसन्धान गर्दै आएका एक प्रहरी अधिृकतले भने । 

हत्या गरेपछि आमा खोजबिहन गरिदिन प्रहरीमा निवेदन 

आमाको हत्या गरेपछि कमल अरु दाइहरुलाई पनि सँगै लिएर १४ माघमा इलका प्रहरी कार्यालय पथरीमा पुगेका थिए । दुई दिनदेखि आमा हराएको भन्दै कमलसहित अन्य दाइहरु पनि आएर हुलियासहित आमा हराएको निवेदन दिएर उनीहरु गएका थिए । कलका अरु दुई जना दाइहरु छुटिएर बसेका छन् । प्रहरीले यस घटनालाई गम्भिर रुपमा लिदै आएको थियो । 

बृद्धा हराएको जानकारी आएपछि अनुसन्धान गर्दा जग्गा विवादको विषय बाहिर आएको र सुक्ष्म अनुसन्धान गर्दा छोरा कमलले नै हत्या गरेको खुलेको डिएसपी खड्काले बताए । हत्यामा संलग्न रहेको खुलेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरि मंगलबार मोरङ अदालतमा ‘कर्तब्य ज्यान’ मुद्दामा १० दिनको म्याथ थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

सम्पती र परिवारिक कहलको कारणले आमाको हत्या गरेको कमलले स्वीकार पनि गरेको प्रहरीले बताएको छ ।