विराटनगर  ।  प्रदेश १ मा तीन पदका लागि बुधबार भएको राष्ट्रिय सभाको निर्वाचन शान्ति पुर्वक सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालयको अनुसार प्रदेश १ मा ९९ प्रतिशत मत खसेको छ । 

९२ जना प्रदेश सभा सदस्य रहेको प्रदेशमा ९१ जनाले मतदान गरेका छन् भने स्थानिय तहका २ सय ७२ जना प्रमुख उप्रप्रमुख मध्ये २ सय ७० जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । 

मतदान गर्न स्थानिय तहका दुई जना प्रमुख र उपप्रमुख अनुपस्थित रहे । विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दिरा कार्की र गौरीगञ्ज गाउँपालिका अध्यक्ष बावुराजा श्रेष्ठ उपस्थित भएनन् । उपप्रमुख कार्की विरामी भएर काठमाण्डौंमा उपचार भइरहेको छ । अदालतको फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई प्रहरीले पक्राउ गर्ने डरले उपस्थित भइनन् । उनलाई नेकपा एमालेले मतदान गर्न ल्याउने भएपछि प्रहरीले पक्राउ गर्न सुरक्षा व्यवस्था कडा बनाएको थियो । प्रदेश सांसद खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार छिन् । 

मतदान गर्ने स्थल दुई ठाउँमा बनाएको थियो । प्रदेश सभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानिय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान स्थल तोकिएको थियो ।  मतदान गर्ने समय तीन बजे सकिएकोले मत परिणाम पनि आजै आउने निर्वाचन कार्यालयले जनाएको छ ।

‘कुनै खालको बाधा अवरोध नभए मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आइसक्छ,’ प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले भने, ‘करिब ११ सय मतपत्र गन्नुपर्ने भएकोले केही ढिला हुने भएको हो ।’ निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसंख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ । मतदान पनि सोही अनुसार भएको हो ।

प्रदेशमा तीन पदका लागि आठ जना चुनावी मैदानमा छन् । सत्तारूण गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेका तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । 

यस्तै सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनाबी मैदानमा छन् । 

यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी छ । राप्रपाले अपाङ्गता तथा अल्पसंख्यक तर्फ भने उम्मेदवारी दिएको छैन । प्रदेश १ मा खुल्ला, महिला र अल्पसंख्यक÷अपांगतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरु नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिंदैछ । रिक्त हुने स्थानको लागि निर्वाचन भएको हो । 

यस्तो छ दलगत अंकगणित 

स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् । प्रदेश सभा सदस्यीय ९२ जना र स्थानिय तहको प्रमुख र उप्रमुख २ सय ७२ जना रहेका छन् । 

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्राबधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा मतभार ९ हजार ३१२ रहेको छ । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५४२ मतभार छ भने पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६८६ देखिएको छ । एमालेभन्दा गठबन्धन १ सय ४४ मतले अगाडी देखिएको छ ।