धरान । स्थानीय तहको निर्वाचनलाई पछाडि धकेल्ने प्रयास भइरहेका बेला निर्वाचन आयोगले यथाशीघ्र निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचन भएको मितिका हिसाबले आगामी जेठ ५ गते निर्वाचित जनप्रतिनिधिहरूको पदावधि सकिँदै छ भने ६ गतेदेखि रिक्त रहने छ । संविधानमा भने स्थानीय तहलाई रिक्त राख्न सक्ने व्यवस्था गरेको छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को ३ (१) मा भने कार्यकाल सकिनु २ महिना अगावै निर्वाचन हुनुपर्ने उल्लेख छ । 

election-2512022103855-1000x0

सोहीअनुसार नै आयोगले सरकारलाई समयमै निर्वाचन गर्न ताकेता गरेको हो । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको छ । आयोगले गत कात्तिक ८ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर निर्वाचनका सम्बन्धमा भएको संवैधानिक र कानूनी व्यवस्थाका बारेमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । 

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । स्थानीय निर्वाचनको विषयमा भने सत्तागठबन्धन दलले संविधानको धारा २२५ अनुसार ६ महिना पछाडि धकेल्ने प्रयास गरिरहेका छन् । उक्त विषयमा अहिले व्यापक विरोध हुँदै आइरहेको छ । आयोगले वैशाख मसान्तसम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि तयारी अवस्थमा रहेको पनि जनाएको छ ।