सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार बढेपछि त्यसलाई नियन्त्रण गर्न सुनसरी प्रहरीले सक्रियता देखाएको छ । 

सीमावर्ती क्षेत्रमा लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले सक्रियता देखाएको हो । खुला सीमाको फाइदा उठाउँदै जिल्लाका विभिन्न सीमा नाकाको हुँदै लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले चलाएको ‘स्टिङ अप्रेसन’ सफल देखिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् ।

गत असार महिनाको १६ गतेदेखि लागूऔषध नियन्त्रणतर्फ सुनसरी प्रहरीको प्रगति विवरणअनुसार हालसम्म लागूऔषधसहित १ सय ४६ जना पक्राउ पर्दा ९५ जनामाथि मुद्दा चलाइएको छ भने अन्य ६ जना फरार छन् ।

यस अवधिमा ७ सय १ ग्राम ६ सय १७ मिलिग्राम ब्राउनसुगर, ४ सय ७८ केजी ९६ ग्राम गाँजा, १ सय एमएलको ३ सय ६४ बोतल डाइलेक्स डीसी, ३ हजार ५ सय ८५ थान नाइट्रोजन ट्याब्लेट, ३ हजार ४ सय २९ थान स्पास्मोप्रोक्सिभन क्याप्सुल, ५ सय ४९ एम्पुल  लुपिजेसिक, डाइजेल्याव, एभिल र १४ हजार १ सय ट्याब्लेट ट्रमाडोल क्याप्सुलसहित उनीहरूलाई कारबाहीको लागि औषधि विभागमा पठाइएको सुनसरी प्रहरीको तथ्याङ्क छ ।

लागूऔषध प्रयोगकर्ता तथा कारोबारीले सुनसरीको कोसी गाउँपालिका क्षेत्रलाई केन्द्रित गरेर सबैभन्दा बढी कारोबार गर्ने गरेको पाइएको छ । कोसी गाउँपालिका क्षेत्रमा लौकही, भण्टाबारी, लाही र श्रीपुर गरी चारवटा बिओपी छन् । तीमध्ये भण्टाबारी, लौकही र श्रीपुर क्षेत्रबाट लागूऔषध कारोबार बढी हुने गरेको देखिन्छ ।

खुला सीमा भएकाले सूचनाविना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सजिलो नभएको सीमामा तैनाथ सुरक्षाकर्मी बताउँछन् । खुला सीमाको फाइदा उठाएर लागूऔषध सेवनकर्ता र कारोबार गर्ने व्यक्तिको सङ्ख्या बढेको पाइएको हुँदा सीमामा निगरानी बढाउँदा ठूलो परिणाममा लागूऔषधसहित कारोबार गर्ने व्यक्ति पक्राउ गर्न सफल भएको एसपी थापाको भनाइ छ ।

उपत्यकापछि सबैभन्दा बढी लागूऔषध प्रयोगकर्ता भएको सुनसरी जिल्लामा न्यूनीकरण गर्ने अभिप्रायले सुनसरी प्रहरीले निरन्तर लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको दुव्र्यसनीविरुद्ध सुनसरी प्रहरीको अभियानलाई जिल्लाका स्थानीय तहहरूले समेत साथ दिएका छन् ।

भारतसँग खुला सीमा नाकाका कारण पछिल्लो समय प्रमुख समस्याका रूपमा देखापरेको लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयहरूमा फ्यान क्लब गठन गरी दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गरिरहेको छ ।

विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई लागूऔषधका नकारात्मक पक्षका बारेमा जानकारी गराउँदै समाज सुधारमा उनीहरूलाई सक्रिय बनाउने काम गरिरहेकाले त्यसको असर देखिएको ओरेक नेपाल सुनसरीकी प्रतिनिधि विमला घिमिरे बताउँछिन् ।

खासगरी लागूऔषध प्रयोगकर्ता तथा कारोबार गर्ने अधिकांश युवावस्थाका देखिएकाले त्यस्तो गलतबाटो जानबाट बचाउँदै समाज विकासमा केन्द्रित बनाउन विद्यार्थीहरूलाई सुनसरी प्रहरीसँग मिलेर सचेतनामूलक कार्यक्रम गर्दै आएको ओरेक नेपालकी अर्का प्रतिनिधि शान्ति दनुवारले बताइन् ।

समाजप्रति समर्पित हुन तथा सभ्य र शान्त समाज निर्माणमा योगदान दिन  युवापुस्ताको सहभागिता अपरिहार्य रहेकाले लागूऔषध न्यूनीकरण गर्न सुनसरी प्रहरीसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

प्रहरी र जनप्रतिनिधिको प्रयासमा मात्र यति ठूलो समस्या निराकरण नहुने भएकोले विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका, युवावर्ग लगायत सबै लागूऔषधविरुद्धको अभियानमा जुट्न आवश्यक रहेकोे उनको भनाइ छ । दुव्र्यसनविरुद्धको अभियानले सुनसरीमा लागूऔषध सेवनकर्ता र कारोबार गर्ने व्यक्ति सचेत गराउन सफल भएको हुँदा पहिलाको तुलनामा कमी आएको एसपी थापाको दाबी छ ।