विराटनगर । १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा नेपाली काङ्ग्रेसका प्रदेश समिति सदस्य तथा बूढीगङ्गाका नेता शिव कोइराला पक्राउ परेका छन् ।

मोरङ प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको उद्योगमा मोरङको बूढीगङ्ग गाउँपालिका–२ टङ्की सिनवारी घर भएका कोइरालालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका कोइरालाले १० वर्षीया बालिकालाई टङ्की सिनवारीस्थित बाथरुममा शुक्रबार जबरजस्ती करणीको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

‘पीडितले जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो’ डिएसपी मुकारुङले भने, ‘सोमबार अदालतमा म्याद थप गर्ने तयारी गरेका छौं ।’ पीडितले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएको उनले बताए ।

बालिका जीवन–मरणको दोसाँधमा
मोरङको बूढीगङ्गाको टङ्की सिनवारीस्थित बाबुको पसलमा बालिका शुक्रबार साँझ आएकी थिइन् । मुख धुन भनेर बाबुको पसलनजिक रहेको बाथरुममा उनी गएकी थिइन् ।

ती बालिकाको गतिविधि शिव कोइरालाले पहिलादेखि नै नियालिरहेका थिए । बालिका बाथरुममा गएको एकछिनपछि उनी पनि सँगै गएका थिए ।

बालिका बाथरुमबाट बाहिर निस्कन नपाउँदै कोइरालाले बालिकालाई समातेर भित्र लगी जबरजस्ती गरेको पीडित बालिकाको भनाइ उद्धृत गर्दै एक आफन्तले बताए ।

बालिकालाई जबरजस्ती गरेपछि कोइराला फरार थिए । मोरङ प्रहरीमा जाहेरी दिएपछि उनलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।  

पीडित बालिका विराटनगरको एक अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छिन् । बालिका अहिले अस्पतालको शøयामा छट्पटाइरहेकी छिन् । ‘अहिले पनि ती बालिकाको छेउमा जाँदा कहालिने र चिच्याउने गर्छिन्’ पीडितका एक आफन्तले भने, ‘उनीमाथि भएको घटनालाई सम्झिएर अहिले पनि बालिका बर्बराउने गरेकी छिन् ।’

बालिकाको अवस्था चिन्ताजनक रहेको छ । उनी रुने, कराउने, चिच्याउने र बेलाबेला बेहोस हुने गर्छिन् ।