बिर्तामोड । कोचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडमा भाक्का दिवस मनाइएको छ । राजबंशी समुदायले खाजाको रुपमा उपभोग गर्ने भाक्काको पहिचान स्थापित गराउने उद्देश्यले भाक्का दिवस मनाउन थालिएको हो ।

राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्का (चलनचल्तीको शब्दमा भक्का) लाई राष्ट्रिय स्तरमा चिनाउन र आदिवासी विपन्न वर्गका महिलाहरुले पेशाको रुपमा अंगाल्दै आएको भाक्का व्यवसायको प्रचार र उनिहरुको सम्मानको लागि भाक्का दिवस मनाउन सुरु गरिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए ।

फ्रन्टको अगुवाइमा भएको यो पाँचौ भाक्का दिवस हो । राजवंशी समुदायको  परम्परागत परिकार भाक्का, पूर्वी नेपालको तराईमा सर्वाधिक रुचाइने परिकारमा पर्छ । जुन विशेषतः हिउँदमा बढी उपभोग हुने गरेको छ ।

चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्कालाई अचारसँग खाने यसको बिषेशता हो । भाक्का स्वास्थ्यकर र ताजा हुने हुनाले यसलाई प्रवर्द्धन गर्न जरुरी भएको फ्रन्टले जनाएइको छ ।

भाक्का दिवसमा राजवंशी कोच सांस्कृतिक नृत्य, भेषभूषा, दैनिक जीवनमा चलनचल्तीमा आउने बस्तुहरुको पनि प्रर्दशनी, कविता बाचन प्रतियोगिता गरिएको छ । हरेक बर्षको पुष २९ गते मनाइने भाक्का दिवसमा भाक्कासँगै माछाको परिकार, अचार निशुल्क रुपमा वितरण गर्ने गरिएको राजबंशीले बताए ।