विजयपुर। आज (बिहीबार) गुरुङ समुदायको चाड तमु ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ ।

गुरुङ समुदायले तमु ल्होसारका अवसरमा धरान–१८ स्थित गुम्बामा तमू ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान इकाई समिति र नेपाल बौद्ध गुम्बा पूर्वाञ्चल तमु बौद्ध सेवा समितिले संयुक्त रूपमा विविध कार्यक्रम गरेर मनाउने भएका छन् ।

गुरुङ समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यसपटक गाई वर्गलाई बिदाई गरेर बाघ वर्गलाई स्वागत गर्दै विभिन्न कार्यक्रम गरिने बताइएको छ ।

ल्होसारको कार्यक्रम बुधबारदेखि नै सुरु भएको छ । बुधबार फुर्बा पूजा साथै सामूहिक ग्रहशान्ति गरिएको छ । बिहीबार गणजक्र पूजा आयु अभिषेक साथै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरी मनाइने परिषद्का सचिव यम गरुङले जानकारी दिए ।

ल्होसारको अवसरमा विभिन्न खेलसमेत आयोजना हुने बताइएको छ । म्युजिकल चियर, छेलो, बेलुन फुटाइ र घैंटो फुटाइ कार्यक्रम गरिने साथै घैंटो फुटाइमा प्रथम हुनेलाई तमुराजा घोषणा गरिने परिषद्का अध्यक्ष पृथ्वीमान गुरुङले जानकारी दिए ।