धरान । इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस आज (शनिबार) विश्वभर मनाइँदै छ । जिसस क्राइस्टमा विश्वास राख्ने इसाईहरूले यस दिनलाई क्रिसमस डेका रूपमा मनाउने गरेका छन् ।

आजका दिनलाई जिसस क्राइस्टको जन्मदिनको रूपमा लिने गरिन्छ । चौथो शताब्दीदेखि नै २५ डिसेम्बरलाई क्रिसमस डेका रूपमा मनाउन थालिएको हो । क्रिस्चियन धर्मावलम्बीहरूले आजका दिन चर्चहरूमा जिसस क्राइस्टको पूजाअर्चना गर्ने गरेका छन् ।

उनीहरूले जिससलाई प्रभुको नामले पुकार्ने गर्छन् । सम्पूर्ण मानवजातिको पापलाई नाश गर्नका लागि जिससले मानिसको अवतार लिएको विश्वास गरिन्छ । इसाई धर्मावलम्बीहरूको मुख्य ग्रन्थ बाइबल हो । बाइबलमा जिससका उपदेश, चमत्कारका विषयहरू समेटिएका छन् भने जसमा सांसारिक नियमहरू पनि रहेका छन् ।

इसाई धर्मावलम्बीहरूले आजका दिनमा प्रेम, माया, सद्भावका साथ चर्चमा गएर प्रभुको पूजाअर्चना गर्दै मिष्ठान्न भोजन गर्ने गरेका छन् । यस वर्ष सार्वजनिक बिदाकै दिन क्रिसमस डे परेकाले पनि यसपटक सार्वजनिक बिदा दिइएन । विगत वर्षहरूमा भने सार्वजनिक बिदा दिइँदै आएको थियो । केही वर्ष भने सार्वजनिक बिदा पनि कटौती गरिएको थियो ।