धरान । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा किरात राजा यलम्बरको पूर्ण कदको प्रतिमा निर्माण गरी सोमबार अनावरण गरिएको छ ।

किरात समुदायको उँधौली पर्वको अवसर पारेर निर्माण गरिएको प्रतिमा धरान नगर प्रमुख तिलक राईले अनावरण गरे । स्वर्गीय कप्तान भीमराज राईको सम्झनामा पत्नी धुर्पीमाया राई, छोराबुहारी वीरबहादुर, लीलादेवी राईलगायतका परिवार मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् ।

कार्यक्रमपश्चात् उँधौली पर्व पनि मनाइएको थियो । साकेला पार्कमा हरेक वर्ष १५ दिनसम्म धुमधामका साथ उँधौली पर्व मनाउने गरिन्छ ।

यसैबीच किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ ।

जिल्लाबाट निर्वाचित कार्य समितिलाई प्रमाण–पत्र वितरण गरिएको अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । समितिको उपाध्यक्ष सुवित्रा राई र चन्द्रकला राई, सचिवमा नवीन राई, सह–सचिवमा शम्भु राई, रमेश राई, यलमहाङ राई, कोषाध्यक्षमा उपेन्द्र चाम्लिङलगायत चयन भएका थिए ।

केही पदमा निर्वाचन भए पनि केही पद सर्वसम्मत चयन भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम राई, मेयर राईलगायतले निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै प्रमाण–पत्र वितरण गरेका थिए ।