सुनसरी । नेपाली काङ्ग्रेस जिल्ला समिति सुनसरीमा मिश्रित पदाधिकारी निर्वाचित बनेका छन् । संस्थापन देउवा समूह र कोइराला–पौडेल समूहबाट निर्वाचित बनेका हुन् ।

सभापतिमा संस्थापन पक्षलाई हराउँदै कोइराला समूहका केदार भण्डारी १४ सय २२ मत ल्याउँदै विजयी बने । संस्थापनका सञ्जयप्रसाद श्रेष्ठलाई १ सय १३ मतले हराए । श्रेष्ठले १३ सय ९ मत प्राप्त गरेका थिए ।

भण्डारी दुई कार्यकाल सचिव पदमा कार्यरत थिए भने उनी कानून व्यवसायी पनि हुन् । सचिव पदका भण्डारी काङ्ग्रेस कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । नेता कार्यकर्ताको समस्या बुझ्दै समाधानका लागि लागिपर्ने नेताका रूपमा चिनिएका भण्डारी लोकप्रिय रहेको काङ्ग्रेस नेताहरू नै बताउँछन् ।

यस्तै कोइराला समूहकै नगेशचन्द्र राईले १३ सय ३५ मत र पङ्कजकुमार महतोले १३ सय १२ मत ल्याउँदै विजयी बने । सचिवमा संस्थापनका वीरेन्द्रकुमार साहले १४ सय ६७ मत प्राप्त गर्दै विजयी बन्दा संस्थापनका अर्का सचिव रञ्जेश भट्टराई एक मतले हारे ।

उनलाई कोइराला समूहका प्रत्यासी माधवकुमार घिसिङले हराए । घिसिङले १२ सय २९ मत ल्याउँदा भट्टराईले १२ सय २८ मत प्राप्त गरे । सह–सचिवमा संस्थापनका गणेश सुब्बाले १३ सय ५ र मनिषकुमार रायले ११ सय ७७ मत प्राप्त गरे ।

अपाङ्ग केन्द्रीय महाधिवेशनमा १३ सय ६४ मत ल्याउँदै उपेन्द्रप्रसाद मेहता र त्यस्तै अपाङ्गतर्फको प्रदेशतर्फ महाधिवेशन प्रतिनिधिमा ११ सय ६३ मत ल्याउँदै देवेन्द्र पौडेल निर्वाचित भए ।

सदस्यको नतिजा भने मङ्गलबार बिहानसम्म आउने जनाइएको छ । सुनसरीमा कुल २९ सय १८ मतमध्ये २७ सय ७४ मत खसेको थियो । प्रदेश, महाधिवेशन र जिल्ला गरी ५६ जनाले उम्मेदवारी दिएका थिए ।

जिल्लामा पदाधिकारीसहित ४९ सदस्यीय कार्य समितिका लागि १ सय ३८ जनाले उम्मेदवारी दिएका थिए । पदाधिकारीतर्फ सभापतिमा दुई, उपसभापतिमा ४, सचिवमा ५, र सह–सचिवमा ६ जना, ४२ जना सदस्यका लागि १ सय २१ जनाले प्रतिस्पर्धा गरेका छन् ।

आन्तरिक निर्वाचनमा हारजित हुँदैनः सभापति
नवनिर्वाचित सभापति भण्डारीले पार्टीको आन्तरिक निर्वाचन भएकाले कसैको हारजित नहुने बताए । लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक निर्वाचन भएकाले हारजितले कुनै अर्थ नराख्ने बताए । पार्टीलाई अझै उचाइमा पु¥याउनका लागि आगामी दिनमा आफू केन्द्रित हुने पनि उनले बताए ।