पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले वर्तमान सत्ता गठबन्धन लोकतन्त्र, व्यवस्था र संविधानको रक्षाका लागि भएको बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा सोमबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फिदिम नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन् ।

लोकतन्त्रलाई निमोठ्ने, संविधानलाई च्यात्ने र जनताको जनादेशबाट बनेको प्रतिनिधिसभालाई दुई–दुईपल्टसम्म असंवैधानिक रूपमा विघटन गर्नेजस्ता प्रतिगामी कदमहरूलाई निष्तेज पार्न वर्तमान सत्ता गठबन्धन बनेको आङ्बोले स्पष्ट पारे । उनले अबको तीनवटै तहको निर्वाचन वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा हुने पनि बताए ।

केपी शर्मा ओलीको स्वेच्छाचारी र भष्मासुर प्रवृत्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई धुजा–धुजा बनाएको आरोप लगाउँदै आङ्बोले इतिहासकै सबैभन्दा स्वर्ण अवसर पाउँदा पनि ओलीले त्यसलाई सदुपयोग गर्न नसकेको आरोप लगाए ।

अबको निर्वाचनमा जनतासामु लगेर जाने ओलीसँग कुनै एजेन्डा नरहेको पनि आङ्बोले जिकिर गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री आङ्बोले माओवादी केन्द्र विकास र समृद्धिको सारथि भएको पनि दाबी गरे । उनले अझै पनि कम्युनिष्ट पार्टीहरूबीचको एकता जरुर रहेको उल्लेख गरे ।

अधिवेशनको उद्घाटन समारोहलाई पार्टीका प्रदेश कमिटी सदस्य तथा पाँचथर जिल्ला सह–इञ्चार्ज हर्कबहादुर नेम्बाङ (मिक्सो), प्रदेशसभा सदस्य सीता थेबेलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।