नेकपा एमालेका अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका नेता भिम रावलले  आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

 एमालेको १०औं राष्ट्रिय महाधिवेशन बन्दसत्र सुरू हुनु अघि  अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ । त्यस्तै अध्यक्षका आकांक्षी रावलले पनि  आफूनिकटका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

उनले उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताउदै आइरहेका छन् ।  सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।

 सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एमालेका युवा–विद्यार्थी नेताले होटल सेभेनस्टरअघि प्रदर्शन थालेका छन् ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए । 

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने,  ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’   पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । अध्यक्ष केपी ओली भने आफू बसेको रिसोर्टमा निकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।