बिर्तामोड । नेपाली कांग्रेस झापाको आसन्न जिल्ला अधिवेसनमा सभापतिका लागि दुईजनाबीच प्रतिष्पर्धा हुने भएको छ । कांग्रेसको झापा नेतृत्वको लागि पुर्व उपसभापति देउकुमार थेवे र बर्तमान उपसभापति राम कट्टेलले प्रतिष्पर्धा गर्ने भएका हुन् ।

कांग्रेस झापाको मंसीर १० गते जिल्ला अधिवेसन हुँदैछ । दुबै उम्मेद्वारले बिर्तामोडमा पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेद्वारी दिने बताएका छन् । थेवेले उपसभापतिमा केशबराज पाण्डे र शेरबहादुर भट्टराई, सचिवमा पत्रकार महासंघका पुर्व सभापति समेत रहेका कृष्ण हुमागाँई र बिद्यार्थी राजनीतिबाट उदाएका नविन बिमली, सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजबंशीलाई पदाधिकारीमा खडा गरेका छन् ।

कट्टेलले शहिद पिता  केदार समशेर गिरीलाई उपसभापति तथा नेकपा माओवादी केन्द्रको राजनीतिबाट नेपाली कांग्रेस प्रवेश गरेका बिश्वदिप लिङदेनलाई सचिवको उम्मेद्वार बनाएका छन् । कट्टेलको टीममा अन्य पदाधिकारीका उम्मेद्वार चयन गर्न बाँकी रहेको छ । कट्टेलले बुधबार साँझसम्म पदाधिकारीका उम्मेद्वार फाइनल गर्ने तयारीमा लागेको बताएका छन् ।

थेबेलाई नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण सिटौलाको साथ रहेको छ । उनको पक्षमा झापाका अधिकांस चर्चित कांग्रेस नेताहरु छन् । झापा कांग्रेसको राजनीतिमा बलियो खम्बा मानिएका सुधिर शिवाकोटी, पुर्व सांसद डिल्ली सिटौला, यसअघि देउवा पक्षमा रहेका राजनीति गरिरहेका पुर्व मन्त्री केशबकुमार बुढाथोकी, गोपालकुमार बस्नेत, कांग्रेसको हालका सभापति उद्धव थापा लगायतका नेताहरु थेवेको पक्षमा छन् ।

कट्टेललाई बर्तमान महासचिब बिश्वप्रकाश शर्माको साथ छ । उनलाई नेपाली कांग्रेस झापाका सचिब ताराविर कटुवाल, प्रेम सम्बाहाम्फे, संविधानसभा सदस्य उषा गुरुङ, रेडक्रस झापाका सभापति समेत रहेका लोकराज ढकाल लगायतको साथ रहेको छ ।

नेपाली कांग्रेसको झापा नेतृत्वको लागि लगभग ३ हजार ४०० प्रतिनिधिले मतदान गर्ने छन् ।  शुक्रबार महेन्द्र रत्न मावीमा हुने निर्वाचनले नेपाली कांग्रेसको भावी नेतृत्व चयन गर्ने छ । निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा गरिसकेको जनाइएको छ ।

तुलनात्मक रुपमा कट्टेल पक्षभन्दा थेवे पक्ष बलियो देखिएको छ । यद्यपी कट्टेल पक्षले पनि आफ्नो जीत सुनिश्चित रहेको बताएको छ । नेतृत्व परिवर्तनका लागि आफ्नो उम्मेद्वारी रहेको कट्टेलले बताउने गरेका छन् । सालिन स्वभावका कट्टेल थेवेको जीतका लागि तगारो बन्न सक्ने कांग्रेस नेताहरुको मुल्यांकन रहेको छ ।

हक्की, निडर तथा स्पष्टवक्ता थेवेले आफ्ना कार्यकर्ताको हरेक समस्यामा साथ दिदै आएका छन् । उनले जिल्लामा नेतृत्व लिएर गरेका जनबर्गिय संगठन तथा सामाजिक संगठनको निर्वाचन सबैमा नतिजा आफ्नो पक्षमा पारेको जस पाएका छन् । यद्यपी उनी गएको प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।

नेपाली कांग्रेसको यो जिल्ला अधिवेशनलाई बिश्वप्रकाश शर्मा र कृष्ण सिटौलाले स्थानीय राजनीतिक हैसियत मापन गर्ने अवसरका रुपमा लिएका छन् । झापामा एकछत्र निर्णय गर्दै आएका सिटौलाले प्रतिनिधि चयनमा राखेको सुझबुझ प्रभावकारी भएको उनी पक्षीय नेताहरुको बिश्वास छ ।