धरान । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा कोइराला समूहका सुजेन्द्र तामाङको प्यानल विजयी बनेको छ ।

संस्थापन देउवा समूहका लक्ष्मी खतिवडाको प्यानल पराजित बनेको हो । धरान ८ सभागृहमा राति सम्पन्न मतपरिणामअनुसार कोइराला पौडेल समूहबाट सभापतिमा उम्मेदवारी दिएका तामाङले ३९३ मत ल्याई विजयी बनेका हुन् । 

संस्थापनकी लक्ष्मी खतिवडाले २१५ मत पाइन् । त्यस्तै सचिवमा महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत ल्याउँदा संस्थापनका देवेन्द्र लिम्बूले २९३ र जयबहादुर लिम्बूले १७२ मत मात्रै पाए । त्यस्तै सहसचिवमा भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले २८२ मत पाए भने संस्थापनका सहसचिवद्वय नवीन ढकालले १६१ र नारद राईले २०७ मत पाए ।

त्यस्तै खुल्लातर्फको महाधिवेशन प्रतिनिधिमा पनि तामाङ प्यानल नै विजयी बनेको छ । खुल्लामा कुल ३१ जनाले उम्मेदवारी दिएको थिए । जसमध्ये १० जना मात्रै खुल्ला प्रतिनिधि जान पाउने व्यवस्था थियो । यता दलिततर्फ पनि तामाङको प्यानल नै बर्चश्व रहेको छ ।