नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका अधिकांश पार्टीहरूमा शिक्षकको योगदान रहेको बताएका छन् । उनले गाउँमा मजदुर र किसानसँग एकाकार भएर राजनीतिक दलहरू स्थापित गराउँदै राजनीतिक नीति तथा कार्यक्रमहरू जनता माझ लान शिक्षकहरूको हात रहेको बताएका छन् । 

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले शिक्षकहरूले राजनीति गर्नु हुन्न भन्नु राजनीतिक प्रणालीलाई कमजोर पार्नु भएको बताएका छन् ।

उनले भने, "शिक्षकहरू अझ सक्रियताका साथ समाजसेवा, सामाजिक र राजनीतिक रूपान्तरणमा लाग्नुपर्छ । अनि मात्र सामाजिक रूपान्तरणमा देशमा लैजान सकिन्छ ।"

 दाहालले  शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिनुपर्नेमा राज्यले सबैभन्दा बढी विभेद भएकाले पनि शिक्षकहरूले  राजनीतिक क्रान्तिमा आउनुपरेको  धारण व्यक्त गरेका छन् । उनले अर्कालाई प्रधानमन्त्री बनाउँदै हिँडे पनि क्रान्ति गर्ने बाहिर रहेकाले अझ डटेर जानुपर्ने बताएका छन् ।