संखुवासभा । जिल्लाको सदरमुकामदेखि एक दिनमा पुगेर सोही दिन फर्किन सक्ने दुरी रहेको चिचिला गाउँपालिकाको मत्स्यपोखरी पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले नागरिकहरूको पहिलो रोजाइमा यो पोखरी पर्न थालेको हो ।

चिचिला गाउँपालिका वडा नं. ४ मा पर्ने यो पोखरीमा फोहोरमैला तथा यहाँ रहेका माछा मारेमा अनिष्ट हुने विश्वास रही आएको छ । यो पोखरी नजिकै रहेको मन्दिरमा पुजा आज गरे चिताएको कुरा पुग्ने समेतको जनविश्वास रही आएको छ । पोखरीको माछा मार्दा अनिष्ट भएको प्रत्यक्ष रहेको भन्दै यो पोखरीमा ठुलो शक्ति रहेको स्थानीय पदम बहादुर गुरुङको भनाई छ ।

धार्मिक हिसाबले हिन्दु, बौद्ध, किराँत लगायतका धर्मसँग विश्वास जोडिएको यो मत्स्यपोखरी प्रचार अभावमा अझ ओझेलमा पर्दै गएको छ । पोखरीमा फोहोर गरेमा पोखरीको माछा मारेमा विनाश हुने र यहाँ नजिकै रहेको मन्दिरमा पूजा गरेको राम्रो हुने जनविश्वास रही आएको छ ।

पोखरीभरि रहेको असल माछा र धार्मिक पुजा आज समेत उनेसँगै मनमोहक स्थानहरू रहेकोले यो ठाउँ पर्यटनको हिसाबले अग्रणी छ । यस्ता पर्यटकीय स्थलहरू विकासका हिसाब तीव्र भइरहे पनि तर सडकको स्तरोन्नति र व्यवस्थित बास स्थान हुन आवश्यक रहेको काठमाण्डौबाट घुम्न आएका दिपक श्रेष्ठले बताए ।

यता गाउँपालिकाले भने गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्नको लागि पहल गरिरहेको छ । डिपिआर नै तयार गरेर विभिन्न धार्मिक आस्थासँग जोडिएको मन्दिर तथा मूर्तिहरूको विकास गरिरहेको छ । गत कार्तिक २७ गतेबाट गाउँपालिकाले सो स्थानमा निर्माण गरेको शिवलिंग र बसाएको मूर्तिमा ७ दिने प्राण प्रतिष्ठा गरिरहेको छ ।

साथै सोही स्थानमा गाउँपालिकाभरिका सार्वजनिक स्थानमा जग्गा दान गर्नेलाई सम्मान र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ लगायतको उपस्थितिमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम समेत आयोजना गरिएको छ । यो पोखरीमा बर्सेनि हरिबोधिनी एकादशीपछिको पूर्णिमामा बजार लाग्ने गर्दछ ।