बराहक्षेत्रको नडाहस्थित किरातेश्वर हाङसाम युमा माङहिम प्राङ्गणमा किरात धर्म दर्शनका महान दार्शनिक समाज सुधारक एवम् राष्ट्रिय विभुति मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती मनाइने भएको छ ।

किरात धर्मगुरु आत्मनन्द लिङ्देनको विशेष उपस्थितिमा १३७ औ महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइने आयोजक समितिकी सचिव सविता चोम्बाङले जानकारी दिइन् । 

सोही अवसरमा माङहिम परिसरमा निर्मित दुई भव्य मन्दिर (माङ्हिम) उद्घाटन गरिने छ साथै माङहिम परिसरमा निर्माण गरिएको माहागुरु फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण गरिने अध्यक्ष रनाहाङ लिम्बूले जानकारी दिए । 

आइतबार माङहिम परिसरमा आयोजित पत्रकार सम्मेलनमा आगामी २५ गते हुने कार्यक्रमबारे जानकारी गराइएको छ । 

झण्डै १ करोडको लागतमा निर्माण गरिएको मन्दिरका लागि हङकङ, बेलायतलगायतका भक्तजनले आर्थिक सङ्कलम गरिएको समिति सदस्य सुजन लिम्बूले जानकारी दिए । 

स्थानीय रुपमा मन्दिर निर्माणमा बराहक्षेत्र ३ नम्बर वडा कार्यालयको ३ लाख, भीम आचार्य पर्यटनमन्त्री हुँदा २ लाख, क्याप्टेन नवीन थाङ्देनको स्मृतिमा श्रीमती बबिमायाले ८ लाख र जनश्रमदानबाट २ लाख सङ्कलन गरिएको निर्माण समिती अध्यक्ष बखतबहादुर लिम्बूले जानकारी दिए । 

२०४८ सालमा स्थापना भएको माङहिम क्षेत्रमा कच्ची रुपमा दुई मन्दिर निर्माण गरिएको थियो । मन्दिरहरु जीर्ण भएपछि पक्की संरचना निर्माण गरिएको हो । माङहिम परिसरमा कम्पाउण्ड वाल, प्रवेशद्वारसमेत भक्तजनले निर्माण गरेका छन् ।