धरान / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध उभिएको नेपाल बार एसोसिएसनले आन्दोलनको घोषणा गरेको छ । पाँच दिनभित्र प्रधानन्यायाधीशलाई राजीनामा दिनका लागि बारले अल्टिमेटम दिएको छ ।
यतिबेला प्रधानन्यायाधीश जबराविरुद्ध चौतर्फी आलोचना सुरु भएको छ । राजनीतिक दलका नेताहरूले पनि खुलेरै विरोध गर्न थालेका छन् भने सामाजिक सञ्जाल पनि प्रधानन्यायाधीशको विरुद्धमै छ । सामाजिक सञ्जाल ट्वीटर तथा फेसबुकमा पनि उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिन थालेका छन् ।
यता बारले यसअघि नै प्रधानन्यायाधीशविरुद्ध उभिने सङ्केत गरेको थियो भने शुक्रबार आन्दोलनको घोषणा गर्दै पाँच दिने अल्टिमेटम दिएको हो । बारको केन्द्रीय कार्यसमितिको बैठकले बुधबारसम्म राजीनामा गर्नका लागि समय दिइएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । उक्त दिनसम्म राजीनामा नदिए चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरिएको छ ।
चरणबद्ध आन्दोलनका रूपमा पहिलोचरणमा आइतबारदेखि पाखुरामा पट्टी बाँधेर विरोध जनाउने कार्यक्रम छ । प्रधानन्यायाधीश जबरालाई आफ्ना लागि इजलास नतोक्न पनि बारले आग्रह गरेको छ । बारको देशभर ९० वटा एकाइ छन् । शुक्रबार विज्ञप्तिमार्फत् बारले प्रधानन्यायाधीशविरुद्ध गरेको निर्णय सार्वजनिक गरेको छ । त्यसमा कात्तिक १४ देखि १७ गतेसम्म कालोपट्टी बाँधेर विरोध गर्नेदेखि धर्नासम्मको कार्यक्रम तय भएको छ । राजीनामा नआएसम्म आन्दोलन जारी रहने निर्णय गरिएको छ ।
यसैबीच ७ जना कानून व्यवसायीले १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध रिट दायर गरिएको हो । त्यस्तै आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टङ्कबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, डा.मनोजकुमार शर्मा, डा. कुमार चूडाल र नहकुल सुवेदीलाई विपक्षी बनाउँदै रिट दायर गरिएको छ ।
न्यायाधीशहरू इजलासमा नबस्दा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन थुनामै बस्नुपर्दा मौलिक हक हनन् हुने उल्लेख गरिएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको विषयलाई लिएर राजीनामा माग गरिँदै आएको छ । स्वतन्त्र न्यायालयमाथि राजनीतिक हस्तक्षेप हुने भन्दै त्यसको विरोध हुँदै आएको छ ।
यता प्रधानन्यायाधीश जबराका समर्थक कानून व्यवसायी र इतर पक्षका कानून व्यवसायीबीच शुक्रबार नेपाल बारभित्रै हातपात भएको छ । वकिल विराट न्यौपाने र भूमिनन्द चूडालबीचमा हातपात भएको हो । चूडालले इजलास खोल्नुपर्ने विचार राखेको विषयमा न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिक्दै हातपात गरेका थिए । न्यौपाने प्रधानन्यायाधीशको राजीनामा हुनुपर्ने अडानमा छन् भने चूडाल बेञ्च बहिस्कारका विरुद्धमा छन् ।