पथरीशनिश्चरे ः नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत मोरङको पथरी शनिश्चरे नगर अधिवेशनबाट रमेश दहालको अगुवाईमा सर्वसहमतिमा कमिटी चयन भएको छ ।
लोकतान्त्रिक विधि अवलम्बनसँगै समझदारीको उच्चतम् प्रयोग र प्रयास सहित अध्यक्षमा यस अघि सचिवको जिम्मेवारी सम्हालेका दहाल तथा उपाध्यक्षमा उमनाथ अधिकारी, सचिवमा भीमकुमार राईं, उपसचिवमा संघीय समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका लालबहादुर (एलबी) भण्डारी चयन भएका छन् ।
अर्काे उपसचिवमा रुकमिणा बजगाइँ सहित १० वटा वडाबाट संगठित सदस्य संख्याको आधारमा समेत प्रतिनिधित्व गराउँदै ७५ सदस्यीय कमिटी चयन भएको अध्यक्ष मण्डलका संयोजक प्रदेश सदस्य रामकुमार बस्नेतले जनाए ।
प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि पोलिटब्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले एमालेभित्र अवसरवादीहरु हटेर पार्टीले देशव्यापी रुपमा नयाँ लहर अघि बढाएको बताए । उनले गठवन्धन सरकारको गतिहिनता, उसैको अगुवाईमा अदालतको सरकारमा भागवण्डा सहितका लोकतन्ध विरोधी गतिविधिले अवको तिनै तहको निर्वाचनका लागि देशभरि एमालेको झनै ठूलो लहर सिर्जना हुने जनाए ।
कार्यक्रममा अधिवेशनको संयोजनको जिम्मेवारी पाएका संयोजक प्रदेश कमिटी सदस्य डीपी राईंले अव पार्टीले प्रत्येक वडाका घरधुरी, त्यहाँका किसान, मजदुर, दलित, महिला, युवा, ज्येष्ठ, अपांगताभएकाहरु लगायतको तथ्यांक सहित उनीहरुको अवस्था, विकास निर्माणमा के के आवश्यकता छन् सो को जानकारी पार्टीमा पठाउनु पर्ने बताए ।
भौतिक सहित चेतनाको विकासका लागि वडा वडामा योजनावद्ध काम अघि बढाउनु पार्टीको प्रमुख जिम्मेवारीतर्फ झनै संगठित भएर लाग्न वडा र पालिका कमिटीको प्रमुख भूमिका रहनेमा उनले जोड दिए ।
सो अवसरमा, प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलाबल्लभ अधिकारी, प्रदेश सदस्य एवम् पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, क्षेत्रीय सदस्य एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
अधिवेशनका लागि जिल्लाले देवराज भण्डारी, युवराज वास्कोटा, डम्बर चोम्बाङ, विजय डाँगी, दिलिपकुमार राईं, अर्जुन क्षेत्री रहेको सहजीकरण समितिका बनाएको थियो ।
यसैबीच, अधिवेशनको उद्घाटन्शत्रमा वडा नम्बर ३ बाट नेपाली कांग्रेसका अनु नेपाल, सरला घिमिरे आचार्य सहित १२ जना एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, कांग्रेसमा आवद्ध पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ सहित १ दर्जन कांग्रेस कार्यकर्ता विराटनगरमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाई एमाले प्रवेश गरेका थिए ।
सोही कार्यक्रममा संघीय समाजवादी पार्टीका नगर उपाध्यक्ष एलबी भण्डारी सहित ९२ जना तथा नेकपा माओवादीका सैन्य कमाण्डरको जिम्मेवारी समेत पाएका तेजबहादुर बुढाथोकीको अगुवाईमा रमेश घिमिरे, मदन घिमिरे सहित १ सय ५० जना एमाले प्रवेश गरेका थिए ।