विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजबादी पार्टीसहितको गठबन्धनले सिस्टममाथि प्रहार गरेर अगाडी बढेको बताएका छन् ।

राज्यको विभिन्न अंगहरूलाई कमजोर पारेर अहिलेको गठबन्धन अगाडी बढेको ओलीले आरोप लगाएका हुन् । प्रेस चौधरी नेपाल मोरङले विराटनगरमा मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आध्यक्ष ओलीले सिस्टमलाई असफलता बनाउन नसकिएपनि गठबन्धनले राज्यको अंगहरूलाई कमजोर बनाएर अगाडी बढन खोजेको बताए ।

‘एक थरी सिस्टममाथि प्रहार गर्ने भनेर लागि परेका छन् । तर, त्यसको कुनै असर छैन,’ उनले भने, ‘राज्यको विभिन्न अगंहरूलाई कमजोर पारेर त्यसमार्फत सिस्टमलाई  बदमान गराउन लागि परेका छन् ।’

ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलले कुनै धारणा नराख्ने यस विषयमा एमालेले बोल्नै पर्ने केही नभएको बताए । प्रधानन्यायाधीश राणाले अहिलेको सत्तारूढ गठबन्धनसँग मन्त्रालयमा भागबन्डा खोजेको, न्यायालयको सुधारमा अवरोध गरेको भन्दै उनले कि राजीनामा दिनु पर्ने कि संसदबाट महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला ओलीले यस विषयमा एमाले तटस्थ रहने बताएका हुन् । 

‘राजिनामा दिनुपर्छ कि पर्दै भन्ने यस विवादमा एमाले कुनै पक्षधरता जनाउनुपर्ने होइन्,’ उनले भने, ‘निष्पक्ष, स्वतन्त्र र शक्तिप्रिथिबीकरणको सिद्धान्त अनुसारको न्यायलय चाहिएको हो । पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने । यो राजनीति हो, यो दाउपेच हो । एमाले यसमा संलग्न हुँदैन ।’

ओलीले सुदूरपश्चिमका जिल्लामा पनि पार्टीले वडा अधिवेशन गरेको बताए । उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन भएको जानकारी नआएको बताएपछि प्रतिक्रिया दिँदै ओलीले अधिवेशनहरू भइरहेको बताए । एमालेले कात्तिक ६ गते वडा अधिवेशन राखेको थियो । ‘उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म काठमाडौं गएर सोध्छु,’ ओलीले भने ।