धरानमा उपमहानगरपालिकामा नेकपा एमालेका २ वटा समूहले अलग अलग नगर कमिटीको अधिवेशन गर्ने भएका छन् । एमालेको संस्थापना पक्षले १० नम्बर वडा स्थित सैनिक भवनमा नगर अधिवेशनको आयोजनाको तयारी गरिरहेको छ भने , जेठ २ अघिको कमिटीले धरान १५ स्थित होटेल इजी राइडरमा अधिवेशन गर्ने बताएको छ ।
यस अघि भएको वडा अधिवेशन पनि अलग–अलग गर्ने भनिए पनि अन्तिम समयमा सहमति पछि ६ वटा वडा बाहेकका वडामा एक ठाउँमा अधिवेशन गरिएको थियो । १, ५, ८, १०, ११ र १७ नम्बर वडामा दुवै पक्षले अलग अलग कमिटी गठन गरी विवाद कायमै राख्नुका साथै नगर कमिटी अधिवेशनका लागि विवाद झन् बढाएका छन् ।
सामाजिक सञ्जाल मार्फत दुवै पक्षले अलग अलग कार्यक्रमको निमन्त्रणा गरिरहँदा धरान १६ र १३ नम्बर वडा कमिटीले भने एउटै कार्यक्रम नभए दुवै कार्यक्रम बहिस्कार गर्ने बताएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनबाट निर्वाचित १३ अध्यक्ष घनश्याम तिम्सिना र १६ नम्बर वडा कमिटीका अध्यक्ष दिलकुमार गिरीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्वार्थका लागि नेताहरूले कार्यकर्तालाई अन्योलमा राखी २ बटा कार्यक्रम गर्न लागेको बताएका छन् ।
उनीहरूले यदि एउटै कार्यक्रम नभए दुई स्थानमा हुने नगर अधिवेशनमा वडा कमिटीबाट प्रतिनिधि समेत नपठाउनुका निर्णय गर्नुका साथै शाखा तथा अन्य वडा कमिटीहरूलाई पनि दुवै स्थानको नगर अधिवेशन बहिष्कार गर्नसमेत आह्वान गरेका छन् ।
संस्थापना पक्षका अध्यक्ष हर्कजंग एभेङले भने नगर अधिवेशन एकै स्थानमा हुने बताउँदै जेठ २ अघिको कमिटीले केही स्वार्थ राखेर तर्साउनको लागी मात्र प्रचार गरेको बताएका छन् । उनले भने ' अध्यक्ष, सचिव चाहियो भन्ने कुरा आएका छन् । हामीले भने समेटेर जानुपर्छ भनेका छौँ । वहाँहरूले अर्को कार्यक्रम गर्ने भनेको घुर्की देखाएर पद पाइहालिन्छ की भन्ने उद्देश्यले गरेको प्रचार मात्र हो । कार्यक्रम एक ठाउँमा हुन्छ । '
यता, जेठ २ अघिको कमिटीका अध्यक्ष नारायण सुबेदीले भने संस्थापना पक्षबाट छलफल नै नभई अधिवेशनको तयारी भएपछि आफूहरू बाध्य भएर अर्को कार्यक्रम गर्नुपर्ने भएको बताएका छन् ।
दुवै पक्षका अध्यक्षहरू एकै कार्यक्रम हुने मा आशावादी रहेको बताएका छन् । विवाद समाधानका लागी आज ३ बजे दुवै पक्षका जिल्ला तथा प्रदेश स्तरीय नेताहरूको छलफल हुने बताइएको छ ।