इनरुवा । प्रधानमन्त्री शेरबहादुर बाढी पीडित किसानका हकमा विशेष प्याकेजको घोषणा गरिने बताएका छन् ।
प्रधानमन्त्रीले बाढी र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरी सरकारले छिटै राहत प्याकेज घोषणा गर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्री परिषद्को बैठक बसी बाढी, डुबान र पहिरो पीडितका हकमा राहत कार्यक्रम गरिने बताए ।
देउवाले उपलब्ध स्रोत, साधनका अलावा दाताहरूबाट सहयोग जुटाएर भए पनि पीडितका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रदेश १ को बाढी ग्रस्त क्षेत्र अवलोकनका क्रममा इटहरी आइपुग्नु भएका प्रधानमन्त्री देउवाले सबैले अनुभूति गर्ने खालको राहत प्याकेजको घोषणा गरिने जानकारी दिए ।
सुरक्षा प्रमुख सहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन समेत दिनु भएका प्रधानमन्त्रीले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता राख्नु आवश्यक भएको बताए ।