नेकपा एमालेको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको वडा अधिवेशनमा धरान उपमहानगरपालिकाका ४ वटा वडामा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेका छन् ।
एमालेको संस्थापना पक्ष र जेठ २ अघिको कमिटीले धरानको ५, ८, १० र ११ नम्बर वडामा छुट्टा छुट्टै अधिवेशन गरेका हुन् ।
सुनसरी जिल्ला कमिटी सँगै धरानमा पनि दुई समूह बिच आधिकारीताकाको विवाद रहिरहँदा अधिवेशन एकै ठाउँमा गर्ने की अलग–अलग गर्ने भन्ने विषयमा विवाद बढिरहेको थियो ।
तर, अन्तिम समयमा १६ वटा वडामा सहमतिमा एकै ठाउँमा गरिए पनि ती वडाहरूमा भने सहमति हुन नसकेका कारण दुई समूह बिच अलग–अलग अधिवेशन आयोजना गरी नेतृत्व चयन गरिएको छ ।
यसरी गठन गरिएका कमिटीहरूमा एक अर्कालाई अवैध भनिरहँदा संस्थापना पक्षका अध्यक्ष हर्कजंग एभेङले भने संस्थापना इतर समूहले गठन गरेको कमिटीको अर्थ नहुने बताएका छन् । ती वडाहरूमा जेठ २ अघिको कमिटीबाट थोरै सदस्य मात्र सहभागी नभएकाले अर्को कार्यक्रमको आयोजना गरे पनि मान्यता नपाउने उनले दाबी गरेका छन् ।
भने जेठ २ अघिको कमिटीका अध्यक्ष नारायण सुबेदीले नगर अधिवेशनमा क्रियाशील सदस्यको टुङ्गो लागेपछि सहमति हुनसक्ने बताएका छन् ।