विराटनगर । लगातार परेको वर्षाले जलमग्न भएको विराटनगर विमानस्थलमा शनिबार अघि सुचारु हुन नसक्ने भएको छ । विमानस्थलमा जमेको पानी अझै बाहिरी नसकेका कारण दुई दिनयतादेखि विमानस्थल अवरुद्ध भएको हो । 

विराटनगर विमानस्थल प्रमुख उत्सव पोखरेलले दिएको जानकारी अनुसार बिहीबार साँझ बुद्ध र श्री एयरका दुइटा खाली जहाज काठमाडौँ पठाउने तयारी भइरहेको छ । ‘अहिले पनि पूर्ण रूपले पानी सुकेको छैन’, उनले भने ‘त्यसैले अहिले यहाँ रहेका दुइटा विमान खाली नै काठमाडौँ पठाउने तयारी भएको छ । यदि मौसम सफा रह्यो भने शनिबारबाट विमानस्थल खुल्न सक्छ ।’ 

 बुधबार बिहानदेखि पानी रोकिएको र बिहीबार घाम लागेका कारण पानी सुक्न थालेको छ । तर, विमानस्थलको सबैतिर जमेको पानी पुरै सुकेको भने छैन ।

लगातार परेको वर्षाको कारण विराटनगर विमानस्थलमा बास्ता खोलाको बाढी पसेको थियो । विमानस्थल जलमग्न भएको कारणले बुधबार बिहानदेखि  हवाई उडान प्रभावित थियो । बाढी पसेको कारण विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न रहेको थियो । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ । यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।