विराटनगर । लगातार परेको वर्षाको कारण विराटनगर विमानस्थलमा बास्ता खोलाको बाढी पसेको छ । विमानस्थल भित्र बाढी पसेकोले हवाई उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । बास्ता खोलाको पानी गए राती देखि पसेपछि हवाई उडान अवरुद्ध भएको उनले बताए । 

‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ सूचना अधिकारी भण्डारीले भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ 

मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो ।

खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलाइन्सको सीआरजे विमान मंगलबार राति काठमाडौँ फर्किन नसकेर त्यहीँ ‘नाइट–स्टपमा’ मा राखिएको थियो । पानीबाट जोगाउन बुधबार बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको छ । 

विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ । यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् । उडान अवरुद्ध भएपछि बुधबार बिहान काठमाडौं जाने टिकट काटेका यात्रुहरू लामो दुरीका सवारी साधन रिजव गरेर गएका थिए ।