धरान । प्रदेश २ स्थित सिरहा जिल्लाको नरहा गाउँपालिका ३ को एक इनारभित्र मृत अवस्थामा एक युवाको शव फेला परेको छ । 

घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोलबजार गाउँपालिका ८ का २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । स्थानीयले युवाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा पुगेको प्रहरीले जाँचपड्तालपश्चात् शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाएको जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर अवधकिशोर ओझाका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले यसै भन्न सक्ने अवस्था छैन । 

स्थानीयको भनाइ उदृत गर्दै इन्स्पेक्टर ओझाका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्नका लागि शुक्रबार राति गएका थिए । सो क्रममा युवाहरूबीच झगडा भएको थियो । उक्त झगडा र महतोको मृत्युको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।