धरान । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया चोकस्थित सिटिजन बैंक लुटपाट गरेको आरोपमा तीनजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । 

घटनालगत्तै प्रहरीले तीनजनालाई पक्राउ गरे पनि उनीहरुलाई सार्वजनिक गरेको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरिएको हो । घटनामा नौजना संलग्न रहेको प्रहरीले जनाएको छ भने अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । असोज २५ गते सातजनाको समूहले बैंकभित्र पसेर लुटपाट मच्चाएका थिए । उक्त घटनालाई प्रतिकार गर्दा सुरक्षागार्ड रंगेली २ का ४० वर्षीय सितल कुमाल घाइते बनेका थिए । उनी हाल उपचारको क्रममा छन् । 

प्रहरीका अनुसार विराटनगर महानगरपालिका ८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र अररिया गोगराका ३० वर्षीय विजय सहनीलाई सार्वजनिक गरिएको हो । उनीहरुलाई को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा खयबना चोकनजिकबाट हतियारसित पक्राउ गरिएको जनाइएको छ ।

lutpat_bank (2)

लुटेरा समूह भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो । उक्त क्रममा विजय सहनीलाई गोली लागेपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । सहनीको साथबाट कटुवा पेस्तोल पनि बरामद गरेको छ । लुटपाटमा संलग्नहरुको साथबाट मोटरसाइकल, कटुवा पेस्तोल, एक राउन्ड नपड्केको गोली र घाइते सुरक्षागाडएको शरीरबाट निकालिएको गोली बरामद गरिएको छ । 

बैंकबाट लुटेरा समूहले २७ लाख रुपैयाँ नगद लुटेको बताइए पनि हालसम्म प्रहरीले नगदका विषयमा जानकारी गराएको छैन । प्रहरीले हाल अनुसन्धानको क्रममा रहेकाले यसै भन्न नसकिने जनाएको छ ।