पथरी । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको काशीनाथ दाहालको स्मृति ग्रन्थ विमोचन गरिएको छ ।

सोमबार मोरङ कानेपोखरी–६ स्थित जनसेवा माविमा कानेपोखरी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी स्मृति ग्रन्थ ‘आर्दशको आकाश’ विमोचन गरेको हो । प्रतिष्ठानका अध्यक्ष तथा पूर्व सांसद गुरु बराल, संविधानसभा सदस्य तथा नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलगायतले पुस्तक विमोचन गरे । 

जेलको बसाइ, मेरो राजनीतिको पहिलो गुरु, कम्युनिष्ट बनाउने मान्छे, जनसेवाका असल शिक्षक, बयरवनका शिरफु, समान व्यवहार, पार्टीको सारथी, असल योद्धा, निर्वाचनको कमान्डर, काशी सरबाट सिक्ने कुरा लगायत ४३ जना लेखकले काशीनाथ दाहालको बारेमा लेखेका छन् । कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसको सहप्राध्यापक अमृत आचार्यले दाहालको स्मृति ग्रन्थ समीक्षा गरेका थिए । कार्यक्रममा स्व. दाहालकी पत्नी अम्बिका दाहालसहित परिवारका सदस्यहरू उपस्थित भएका थिए । स्व. काशीनाथ दाहालको तस्बिरलाई माल्यार्पण गर्दै परिवारको तर्फबाट राम दवाडीले बोलेका थिए ।

वक्ताहरूले जनसेवा माविका पूर्व शिक्षकको रूपमा रहदा काशीनाथ दाहालको शैक्षिक योगदान, कम्युनिष्ट आन्दोलनमा भूमिगत अवस्थादेखि प्रजातन्त्र प्राप्ति र कम्युनिष्ट आन्दोलनमा दाहालले दिएका योगदानको बारेमा प्रशंसा गरेका थिए । २०५४ सालमा शिक्षा पेशा त्यागेर नेकपा एमालेबाट बयरवन गाविस अध्यक्ष भएका थिए । कानेपोखरी ७, बरगाछीमा घर भएका काशीनाथ दाहाल ४७ वर्षको उमेरमा २०६२ सालमा निधन भएको थियो ।

नेकपा एमाले पार्टी र शिक्षक पेशामा रहदा काशीनाथ दाहाललाई नजिकबाट चिन्ने ४३ जना लेखकले लेखेका २०४ पेज रहेको छ ।