विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा सोमबार दशैंले गर्दा अन्य बेलाको भन्दा भीडभाड र चहल–पहल बढी थियो ।

कर्सिया बजारस्थित सिटिजन्स बैङ्कमा पैसा जम्मा गर्ने र झिक्नेको भीड उस्तै थियो । त्यही बीचमा ८ जनाको समूह बैङ्कभित्र प्रवेश ग¥यो ।

सुरक्षा जाँच नगरी प्रवेश गरेका आठ जनाको समूहमध्ये दुईजनाले एक्कासि पेस्तोल निकाले । बैङ्कभित्र प्रवेश गर्ने समूह लुटेरा रहेछन् । हो–हल्ला भयो । त्यही बीचमा सुरक्षा गार्ड शीतल कुमाल पेस्तोल खोस्न पुगे ।

‘एकजना लुटेराको पेस्तोल खोसेपछि अर्को लुटराले उसँग रहेको पेस्तोल चलाउँदा मेरो कुममा गोली लाग्यो । त्यसपछि एक्कासि बेहोस भएँछु । अहिले होस आउँदा हस्पिटलमा रहेको छु’–घाइते शीतलले भने ।

लुटेराको गोली लागेर घाइते भएका कुमालको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

कुमाल पूर्व नेपाली सेना हुन् । रङ्गेली नगरपालिका–३ बबियाबिर्ता घर भएका कुमाल गत जेठ १ गते सेनाबाट सेवा निवृत्त भएपछि बैङ्कमा जागिर सुरु गरेका थिए । उनले कर्सियाको बैङ्कमा असोज १ गतेदेखि जागिर सुरु गरेका थिए ।

बैङ्क लुट्न खोज्ने तीन जना पक्राउ
मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैङ्क लुट्ने प्रयासमा रहेको लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको छ । दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल–भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका–२ खैरवनाबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली छन् । प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

बैङ्क लुट्ने प्रयास असफल भएपछि को.२५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक विजय बहरदार फरार भएपछि बायाँ खुट्टामा गोली लागेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँसको झ्याङदेखि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल बाँसझ्याङमा रातो कपडाले बेरेको अवस्थामा बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखेर अनुसन्धान सुरु गरेको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी, डिएसपी मञ्जिल मुकारुङ घटनास्थलमा पुगेका थिए ।

अहिले घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए । उनले तीन जना पक्राउ परेको जानकारी दिएका छन् । बैङ्कका कर्मचारीले दिएको जानकारीअनुसार सोमबार दिउँसो आठ जनाको सङ्ख्यामा लुटेराको समूह आएको बताएका छन् ।

‘अहिले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ’ एसपी जिसीले भने, ‘हामीले अनुसन्धान सुरु गरेका छौं । यस घटनामा अरूको पनि संलग्नता हुनसक्छ । हामीले खोजी कार्य जारी राखेका छौं ।’