झापा । झापा बिर्तामोड–२ चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सामाजिक सुरक्षा भत्ता  वितरण गरेको छ ।

संस्थाले आइतबार चारपानेमा सामाजिक सुरक्षा भत्ता बापत संस्थाका ९ सय ३५ जना सदस्यलाई एक करोड ७ लाख ४९ हजार रुपैयाँ वितरण गरेको हो । सामाजिक सुरक्षा रकम विभिन्न सेवा केन्द्रमार्फत् प्रदान गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न ६ वटा शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए । उनले एकल महिला भत्ताबापत ८ हजार रुपैयाँका दरले ५ सय ९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई ६ हजार रुपैयाँका दरले ७२ हजार रुपैयाँ वितरण गरेको कार्यक्रममा जानकारी दिएका थिए ।

त्यसैगरी २ सय ४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ, ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार, ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गिरीले बताए । ज्येष्ठ सदस्यहरूको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ ।

हौसला कार्यक्रम अन्तर्गत पूर्णरूपमा अशक्त र अपाङ्गता भएका नौजना सदस्यलाई १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै दिवङ्गत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुई–दुई वर्षमा आश्रित परिवारलाई २५ हजारका दरले पाँच पटकसम्म रकम उपलब्ध गराइने संस्थाले जनाएको छ । सो अन्तर्गत ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष पुगेपछि स्वयम् सदस्यलाई नै तथा निधन भएमा परिवारका सदस्यलाई जीवन यापनमा सहजताका लागि एक लाखदेखि पाँच लाख रुपैयाँसम्म वितरण गरिएको छ । सो अन्तर्गत १७ जनालाई २६ लाख रुपैयाँ प्रदान गरिएको गिरीले जानकारी दिए ।

सोही कार्यक्रममा संस्थाका पूर्व कर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोष घोषणा गरिएको थियो । अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै एकल महिला रेणुका नेपाललाई विशेष सम्मान गरिएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी सङ्घ १ नम्बर प्रदेश अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई दिनेशबहादुर निरौलाले सञ्चालन गरेका  थिए ।