विराटनगर / कमाउ धन्दामा लागेका गिरोहले विराटनगरमा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्ने गरेको पाइएको छ ।

गिरोहको सञ्जालले अन्तः शुल्कको नक्कली स्टिकर प्रयोग गरी धूमपानका सामग्रीमा प्रयोग गर्ने गरेको भेटिएको छ । अन्तःशुल्कको नक्कली स्टिकर टाँसेर चुरोट बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपैयाँ जरिबाना गरेको छ ।

गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तःशुल्कको स्टिकर प्रयोग गरेको पाइएपछि कञ्चनबारीको गुरुङ किराना पसलका सञ्चालक चन्द्र गुरुङलाई तत्काल जरिबाना गरिएको हो ।

गुरुङको पसलमा फेला परेको क्याप्टेन चुरोटमा गोर्खालरी प्रा.लि.को ठाउँमा गोर्खा लाहान प्रा.लि. उल्लेख भएको नक्कली स्टिकर भेटिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेतृत्वको टोलीले शुक्रबार अनुगमनका क्रममा त्यस्तो फेला पारेपछि गुरुङको पसलबाट ७ सय ६० बट्टा चुरोटसमेत जफत गरेको छ ।

अन्तःशुल्क छलेको आरोपमा चुरोट उत्पादक कम्पनीलाई आन्तरिक राजस्व कार्यालयले समेत थप अनुसन्धान सुरु गरेको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले कैफियत फेला पारेको चुरोटका सम्बन्धमा थप अनुसन्धान हुने भएको हो ।

वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार तत्काल बिलविजक जारी नगरेको आरोपमा किराना पसल सञ्चालकलाई जरिबाना गरिएको हो । बाँकी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयले अनुसन्धान गरेपछि कैफियत ठहर भएबमोजिम कारबाही हुनेछ ।

नक्कली स्टिकर प्रयोग गरिएको चुरोटका सम्बन्धमा आन्तरिक राजस्व कार्यालयले मेसिन रिडेवल परीक्षण गर्दा त्यसको दर्ता फेला परेको थियो । थप अनुसन्धानका लागि राजस्व कार्यालयले सेम्पल परीक्षणको काम सुरु गरिरहेको हो । राजस्व र वाणिज्यले अन्तःशुल्कको नक्कली स्टिकर बनाउने गिरोहको पनि खोजी कार्य तीव्र बनाएको छ ।

‘अनुगमनको क्रममा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको भेटिएको छ’ वाणिज्य कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख पोखरेलले भने, ‘यसरी नक्कली स्टिकर बनाउने गिरोहको खोजी कार्य भइरहेको छ ।’