इटहरी / नेपाली काङ्ग्रेसको १४ आंै महाधिवेशन अन्तर्गत सुनसरीको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ । देउवाका विश्वासपात्र मानिने एक केन्द्रीय पदाधिकारीसहित ५ जना केन्द्रीय सदस्य रहेको सुनसरी जिल्लामा देउवा पक्षको लज्जाजनक हार भएको छ ।
पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वर्तमान सरकारका प्रवक्तासमेत रहेका कानून मन्त्री ज्ञानेन्द्र कार्की, पूर्व मन्त्री तथा हालका केन्द्रीय सदस्य मीन विश्वकर्मा र मनोनित केन्द्रीय सदस्य कल्पना चौधरी, सुमित्रा थरुनी, नरेन्द्र चौधरी, नन्दन दत्तलगायतका नेता रहेको सुनसरी जिल्लामा वर्तमान मन्त्री ज्ञानेन्द्र कार्कीको निर्वाचन क्षेत्रबाहेक अन्य पालिकामा पौडेल समूह हाबी भएको छ ।
सुनसरीका दुई ठूला उपमहानगरपालिकामा पनि संस्थापनइतर समूहले जित हात पारेको छ । सुनसरीको इटहरीमा हेमकर्ण पौडेल र धरानमा श्याम पोखरेल निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनाअनुसार इटहरी नगर सभापतिमा पौडेल तेस्रो पटक निर्वाचित भएका छन् । कुल चार सय ८२ मतमध्ये पौडेलले देउवा पक्षका उम्मेदवार विकास केसीलाई ४२ मतले पराजित गरेका छन् । पौडेलले दुई सय ५३ मत प्राप्त गरेका हुन् भने केसीले दुई सय ११ मत प्राप्त गरे ।
काङ्ग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका विजय गच्छदारको निर्वाचन क्षेत्र र देउवा पक्षकै काङ्ग्रेस केन्द्रीय सदस्य कल्पना चौधरीको नगरमा पौडेल पक्षका पौडेलले ह्याट्रिक गरेका छन् । उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इटहरीको नगर सभापतिमा आफ्नो पक्षलाई जिताउन सकेनन् ।
त्यस्तै सुनसरीकै धरान उपमहानगरमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । नगर सभापतिमा एन्फाका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका देउवा पक्षका उम्मेदवार किशोर राईलाई हराउँदै पौडेल पक्षका श्याम पोख्रेलको प्यानल नै विजयी भएको छ । पौडेल समूहका पोखरेलले ३९ मतले किशोर राईलाई पराजित गरेका छन् । पोखरेलले दुई सय ६२ र राईले दुई सय २३ मत प्राप्त गरेका छन । देउवा पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माकै नगरमा संस्थापन पक्षले हार बेहोर्नु परेको छ ।
त्यस्तै सुनसरीकै रामधुनी नगरपालिकामा पौडेल पक्षका सुदीप अधिकारी विजयी भएका छन् । देउवा पक्षका सगेन चौधरी र दिलु राईलाई पराजित गर्दै पौडेल पक्षका अधिकारी निर्वाचित भए । निर्वाचित भएसँगै रामधुनीमा पनि पौडेल पक्ष बलियो बनेको अधिकारीले दाबी गरे । देउवा पक्षका आमन्त्रित केन्द्रीय सदस्य नरेन्द्र चौधरी र प्रदेश सांसद्समेत रहेकी उनकै छोरी नवोदिता चौधरीको नगरमा पौडेल पक्षले बाजी मारेको छ । उनीहरूले पनि आफ्नो पक्षलाई जिताउन सकेनन् ।
यता इनरुवा नगरपालिकामा पनि पौडेल पक्षका राजन मेहेता अत्यधिक मतका साथ विजयी भएका छन् । हालका नगर सभापति तथा इनरुवा नगरपालिकाका मेयरसमेत रहेका मेहेता अत्यधिक मतले विजयी भएका हुन् ।
वराहक्षेत्र नगरपालिकाको नगर सभापतिमा भने संस्थापन पक्षका रमेश कार्की विजयी भए । पौडेल पक्षका नारायण नेपाललाई हराउँदै संस्थापन पक्षका कार्की विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका रत्नबहादुर राउत पनि पराजित भएका छन् । सोही निर्वाचन क्षेत्रमा पर्ने कोसी गाउँपालिकामा पनि संस्थापन पक्षका सुलेमान मन्सुरी अत्यधिक मतका साथ विजयी भएका छन् । यो क्षेत्र हालका कानून तथा न्याय मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र हो । आफ्नो क्षेत्रको नगर सभापतिमा आप्mनै पक्षलाई नगरसभापतिमा जिताएका छन् ।
गढी गाउँपालिकामा पौडेल पक्षका मानिने कमल चौधरी निर्वाचित भए । संस्थापन पक्षलाई पराजित गर्दै चौधरी पौडेल पक्षबाट निर्वाचित भएका हुन् । त्यस्तै बर्जु गाउँपालिकामा पनि पौडेल पक्ष नै हाबी भएको छ । त्यहाँ पौडेल पक्षका कृष्ण सङ्ग्रौला निर्वाचित भएका छन् । हरिनगरा गाउँपालिकाका नुनु अन्सारी पनि पौडेल पक्षका नै हुन् ।
देवानगञ्ज गाउँपालिकामा पौडेल पक्षनिकट जगदर यादव निर्वाचित भएका छन् । संस्थापन पक्षलाई हराउँदै उनी त्यहाँ निर्वाचित भएको नेपाली काङ्ग्रेस सुनसरीले जनाएको छ । यता अधिकांश पालिकाहरूमा पौडेल पक्ष बलियो भएको कारण जिल्ला सभापतिमा पौडेल पक्ष बलियो भएको नेताहरूले बताएका छन् । सुनसरी जिल्ला सभापतिमा पौडेल पक्षका हालका सचिव केदार भण्डारी र हालका उपाध्यक्ष सञ्जय श्रेष्ठ चुनावी मैदानमा छन् ।
यता निर्धारित समयमा हुन नसकेको दुहबी नगरपालिकाको निर्वाचन आइतबार भएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा भने निर्वाचन हुन नसकेको नेपाली काङ्ग्रेस सुनसरीका सचिव केदार भण्डारीले बताए । पौडेल पक्षका मानिने हालका सुनसरी सभापति तथा नेपाली काङ्ग्रेस प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोइरालाको मेहनतका कारण पनि सुनसरीमा देउवा पक्षलाई पराजित गरेको नेताहरू बताउँछन् ।