धरान/प्रदेश १ सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको मन्त्रालयगत समीक्षा तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको सभाहलमा शुक्रबार सम्पन्न कार्यक्रममा मन्त्री लछुमण तिवारीले सङ्घीय सरकारले वनसम्बन्धी नियमावली निर्माण नगरेकाले प्रदेशलाई नियमावली बनाएर समस्या हल गर्न बाधा भएको बताए । उनले कानुन जनताको पक्षमा निर्माण हुनुपर्ने र व्यवहारिक हुनुपर्ने बताए । त्यस्तै राज्यमन्त्री उत्तमकुमार बस्नेतले वन व्यवस्थापनमा भएका समस्या नीतिगत व्यवस्थामार्फत हल गर्नुपर्ने धारणा राखे । उनले विकास निर्माण र वन वातावरण अन्तरसम्बन्धित भएकाले उचित नीतिको आवश्यकता रहेको बताए । 

वन निर्देशनालय धरानको आयोजनामा भएको कार्यक्रममा डभिजन वन कार्यालयका निर्देशकका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति तथा सदस्यहरू, प्रदेश वन निर्देशनालयका निर्देशक, प्रदेश नम्बर १ अन्तर्गतका १५ वटा वन डिभिजन तथा सव डिभिजन कार्यालयका प्रमुखहरू, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरू, कास्ट व्यवसायीहरू सहभागी रहेका थिए ।